
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान संकट समाधानका लागि अमेरिका अझै पनि वार्ताका लागि तयार रहेको बताएका छन् । तर, इरान भने वार्ताप्रति गम्भीर नदेखिएको उनको आरोप छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकका क्रममा बुधबार बोल्दै रुबियोले अमेरिका सधैँ कूटनीतिक समाधानको पक्षमा रहेको बताएका हुन् ।
उनले इरान वार्तामा गम्भीर भए अमेरिका पनि गम्भीर हुने, अन्यथा आफ्ना तथा सहयोगी मुलुकहरूको हित रक्षा गर्न आवश्यक कदम चाल्ने चेतावनी दिए ।
रुबियोको अभिव्यक्ति यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि नौसैनिक नाकाबन्दी घोषणा गरेपछि आएको हो । उक्त घोषणापछि साउदी अरबबाट एसियातर्फ कच्चा तेल बोकेर गइरहेका तीन तेल ट्यांकरले रातो सागरबाट आफ्नो मार्ग परिवर्तन गरेका थिए ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि शुरू भएको युद्धले खाडी क्षेत्रमा हजारौंको ज्यान लिइसकेको छ । हुथीहरूको नाकाबन्दी घोषणासँगै रातो सागरमा पनि तनाव बढेको छ ।
यसअघि इरानले फारसी खाडीबाट बाहिरिने होर्मुज जलडमरू हुँदै हुने जलयातायातमा दबाब सिर्जना गर्ने चेतावनी दिँदै आएको छ । यस्तो अवस्थामा साउदी अरबको तेल निर्यातका लागि रातो सागर प्रमुख वैकल्पिक मार्ग बनेको छ ।
रोयटर्सका अनुसार इरानका एक वरिष्ठ अधिकारीले तेहरानले मध्यस्थकर्तामार्फत १० दिने युद्धविरामको प्रस्ताव प्राप्त गरेको बताएका छन् । उक्त प्रस्ताव जुनमा अमेरिका र इरानबीच भएको अन्तरिम युद्धविराम सम्झौतालाई जोगाउने प्रयासस्वरूप आएको जनाइएको छ ।
यसैबीच, इरानका गृहमन्त्री इस्कन्दर मोमेनीले मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानको भ्रमण गर्दै वार्ताको पहललाई निरन्तरता दिन आग्रह गरेका छन् ।
रुबियोले इरानलाई होर्मुज जलडमरू नियन्त्रण गर्न नदिनुपर्नेमा जोड दिँदै त्यसले अन्तर्राष्ट्रिय समुद्री मार्गमा खतरनाक नजिर बस्ने बताए । कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गरेर कर असुल्ने वा नतिरे जहाजमाथि आक्रमण गर्ने अवस्था सिर्जना भए त्यसको असर विश्वका अन्य क्षेत्र, विशेषगरी दक्षिण चीन सागरलगायत विवादित समुद्री क्षेत्रमा पनि पर्न सक्ने उनको भनाइ थियो ।
कूटनीतिक प्रयास जारी रहे पनि युद्ध भने रोकिएको छैन । अमेरिकी सेनाले मंगलबार लगातार ११ औं रात इरानका विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार बुधबार बिहान तेहरानमा विस्फोटको आवाज सुनिएको थियो भने राजधानीको हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको थियो ।
इरानको एकमात्र आणविक ऊर्जा केन्द्र रहेको बुशेहर प्रान्तका तीन स्थानमा पनि अमेरिकी आक्रमण भएको इरानी सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ । तीमध्ये एउटा आक्रमण विद्युत् पूर्वाधार नजिकै भएको बताइएको छ ।