
इन्डोनेसियाको एक अदालतले सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहका १९ सदस्यलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। यससँगै तस्करी गरेर सिंगापुर पुर्याइएका बालबालिकाको भविष्यलाई लिएर नयाँ बहस सुरु भएको छ।
अदालतका अनुसार उक्त गिरोहले कम्तीमा ३४ बालबालिकाको अवैध कारोबार गरेको थियो। तीमध्ये कम्तीमा १२ जनालाई सिंगापुर पुर्याएर धर्मपुत्र/धर्मपुत्रीका रूपमा बिक्री गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।
सिंगापुरमा ती बालबालिकालाई अपनाएका परिवार अहिले अन्योल र मानसिक तनावमा छन्। एक अभिभावकले आफूहरूले कानुनी प्रक्रिया पूरा गरेर बच्चा अपनाएको विश्वास गरेको र यो तस्करीको हिस्सा भएको जानकारी नभएको बताएका छन्। उनीहरूले आफूहरू पनि गिरोहबाट ठगिएको दाबी गर्दै सरकारी जाँच प्रणालीले सुरुमै यस्तो गतिविधि पत्ता लगाउनुपर्ने बताएका छन्।
इन्डोनेसियाका बालअधिकारकर्मी र सरकारी अधिकारीहरूले भने ती बालबालिकालाई सिद्धान्ततः इन्डोनेसिया फर्काइनुपर्ने धारणा राखेका छन्।
अनुसन्धानका क्रममा गिरोहले बालबालिकाको जन्मदर्ता बनाउँदा आफ्नै सदस्यको नाम आमाबुबाका रूपमा राखी नक्कली कागजात तयार गरेको खुलेको छ।
कानुनविद्का अनुसार सिंगापुरमा एकपटक कानुनी रूपमा धर्मपुत्र वा धर्मपुत्रीका रूपमा स्वीकृत गरिसकेपछि त्यसलाई रद्द गर्ने प्रक्रिया निकै जटिल हुन्छ। पीकेडब्लूए ल प्राक्टिसका निर्देशक डेरेक चूका अनुसार सिंगापुरमा एडप्सन अर्डरलाई सामान्यतः अन्तिम निर्णयका रूपमा लिइन्छ।
बाल मनोविज्ञानका विज्ञहरूले भने बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने सुझाव दिएका छन्।