
काठमाडौं, १८ फागुन– कामदार खोज्ने (रिक्रुटर) कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । नेपाल जब प्लेसमेन्ट नामको कम्पनी सञ्चालन गरी विभिन्न व्यक्तिबाट १ करोड ५४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कम्पनीका संचालक काठमाडौं टोखाका रोशन कार्की, मोरङ बेलवारीका पूजा प्याकुरेल (भुजेल) र पूजाका श्रीमान् शक्ति भुजेल छन् । पक्राउ परेकाहरुेले अस्ट्रेलियमा खाना प्याकिङ गर्ने काममा पठाइदिने भन्दै ७ जना व्यक्तिबाट १ करोड ५४ लाख रुपैयाँ उठाएर ठगी गरेका प्रहरीले जनाएको छ ।
नेपाल जब प्लेसमेन्ट कम्पनीका सञ्चालकले पैसा उठाएर पूजा भुजेललाई पठाएको र पूजाले भारतमा रहेका दिपक श्रेष्ठलाई रकम पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दाङ घर भएका दिपक श्रेष्ठ भारतको दिल्लीमा रेस्टुरेन्ट व्यवसाय गरी बसेका छन् ।
दिपककै योजनाअनुसार रोसनले पैसा उठाएर पूजालाई दिएको तथा पूजाले केही पैसा आफूसँग राखि बाँकी दिपकलाई दिएकी थिइन् । रोसनले ७ जनाबाट १ करोड ५४ लाख रुपैयाँ उठाएकोमा १ करोड ८ लाख रुपैयाँ पूजालाई बुझाएका थिए । रोसनले बुझाएको १ करोड ८ लाखमध्ये पूजाले ७० लाख रुपैयाँ दिपकलाई बुझाएको बुझिएको छ ।
उनीहरुले पैसा बुझाएका ७ जनालाई दिल्लीको बाटो अस्ट्रेलिया पुर्याउने भन्दै १ महिना दिल्लीको यूनिक होटेलमा राखेका थिए । अस्ट्रेलिया पठाउने भनेर राखेको १ महिनापछि ७ जनाले नेपाल फर्किएर गत पुस २८ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरेका थिए ।
रकम असुल गर्नेमध्ये रोशन र पूजाका श्रीमान शक्ति भुजेलले पीडितलाई रकम नभएको चेक दिएको समेत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोशन कार्कीले ८ लाख, २४ लाख ५० हजार र १७ लाखको गरी तीनजनालाई रकम चेक दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले बताए । शक्ति भुजेलले ४ लाख ४० हजार रुपैयाँ बराबर रकम नभएको चेक दिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीन जनाविरुद्ध ठगी र बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।