०४ साउन २०८३, सोमबार

अर्थमन्त्रीको अभिव्यक्तिले पूँजी बजारमा ‘पहिरो’, एक वर्षकै कमजोर विन्दुमा नेप्से

फागुन २१, २०७४
अर्थमन्त्रीको अभिव्यक्तिले पूँजी बजारमा ‘पहिरो’, एक वर्षकै कमजोर विन्दुमा नेप्से

काठमाडौं, २१ फागुन– अर्थमन्त्रीका रुपमा अर्थशास्त्री डा. युवराज खतिवडा आएपछि नेपाली पूँजीबजारमा गम्भीर असर देखा परेको छ ।  यो साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से पछिल्लो एक वर्षकै कमजोर विन्दूमा झरेपछि लगानीकर्ता झनै निरास देखिएका छन् । गत विहीवार बीबीसी नेपाली सेवासँगको एक अन्तर्वार्ताका क्रममा अर्थमन्त्री डा खतिवडाले पूँजी बजारको लगानीलाई अनुत्पादक क्षेत्रको लगानीको रुपमा ब्याख्या गरेपछि शेयर बजार खस्किएको बिश्लेषण गर्न थालिएको छ । 

अर्थमन्त्री खतिवडाले बिहीवार बीबीसीसँगको अन्तर्वार्तामा विदेशी पुँजी भित्र्याएर तरलता समस्या समाधान गर्ने तर त्यो पूँजीलाई शेयर बजारमा लगानी गर्न नदिने बताएपछि लगानीकर्ताहरु झस्किएको बिश्लेषकहरु बताउँछन् । 

एक वर्षकै कमजोर अवस्थामा नेप्से

आइतबार कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से सूचक ४१ दशमलव ५६ अंक अर्थात ३ दशमलव ०९ प्रतिशतले घटेर १३०४ दशमलव ४३ अंकमा बन्द भएको छ । यो पछिल्लो एक वर्षकै कमजोर बिन्दुमा रेकर्ड भएको छ ।

आइतवार कारोबार सुरु भएसँगै घट्न थालेको बजार दिउँसो २ बज्दासम्म ५३ दशमलव ८२ अंकले ओरालो लागेको थियो । बन्द हुने बेला थोरै सम्हालिएको बजार ४१ दशमलव ५६ बिन्दुमा पुगेर बन्द भयो । 

आइतवार १५१ वटा कम्पनीको ४८ करोड ३९ लाख रुपैयाँको कारोबार भयो । जसमा दुईवटा कम्पनी सूर्योदय र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । सूर्योदयको शेयर ३ दशमलव ३९ प्रतिशतले बढ्यो भने स्वदेशी लघुवित्तको शेयर मूल्य १ दशमलव ८६ प्रतिशतले बढेको छ ।

बहसमा अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडा बि.संस २०६६ चैत देखि २०७१ चैत सम्म नेपाल राष्ट्र बैंकको गभर्नर रहे । खतिवडाले आफ्नो कार्यकाल भरीमा पटक–पटक शेयर बजार बढ्नुलाई ‘सुन्निएको अर्थतन्त्रको ऐना’जस्तै भनी ब्याख्या गरे । शेयर बजार केही व्यक्तिको कब्जामा रहेको भन्दै यसका लागि कठोर नीति अपनाउनुपर्ने तर्क गरिरहने तत्कालीन गभर्नर तथा बहालवाला अर्थमन्त्रीको खतिवडाप्रति ठूला लगानीकर्ता नै त्रसित बन्दा बजारमा गम्भीर असर देखा परेको जानकारहरु बताउँछन् । 

केपी ओली प्रधानमन्त्री बनेको दिन ३६ अंकले बढेको नेप्से परिसूचक त्यसपछिका दिनमा लगातार दोहोरो अंकले घटिरहेको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन उत्साहित बनेको पुँजी बजार घट्दै अर्थमन्त्रीमा डा. खतिवडा नियुक्त भएको उक साता नपुग्दै बजार ओरालो लागेर एक वर्षकै कमजोर बिन्दूमा पुग्यो । 

के अर्थमन्त्रीकै कडा नीति र पछिल्लो अभिव्यक्तिले हो ? यो प्रश्नमा तर्क बितर्क भइरहेका छन् । 

अर्थतन्त्र राम्ररी बुझेको र संकटको बेलामा अर्थतन्त्रलाई सहज ढंगबाट अगाडि बढाउने व्यक्ति भन्दै डा. खतिवडालाई सर्बसाधारणले सकारात्मक रुपमा लिए पनि शेयर बजारलाई आफ्नो मुठ्ठीमा राखेर रातारात पैसा दोब्बर पारिरहेकाहरु एकाएक निश्क्रिय बनिदिँदा बजार खसिएको बिश्लेषकहरुको अनुमान छ ।  ‘खतिवडाले साँच्चिकै अर्थतन्त्र सुधारको नीति अपनाए शेयर बजारमा पनि हस्तक्षेप गर्नसक्ने आशंकाले निस्कृय बने । उनीहरुकै प्रभावमा रहने साना लगानीकर्ता पनि प्रभावित बनेका मात्रै हुन्,’ एक बिश्लेषकले भने ।

डा. खतिवडा गभर्नर भएकै बेलामा शेयर धितोमा पाइने मार्जिन लेन्डिङको सीमा तोकिएको थियो भने उनी अघिका गभर्नर विजयनाथ भट्टराईले कार्यान्वयनमा ल्याएको घरजग्गा क्षेत्रमा जाने बैंकिङ कर्जाको सीमा तोक्ने नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएको थियो । 

डा. खतिवडालाईलाई शेयर बजारप्रति नकारात्मक ब्यक्तिका रुपमा चर्चा गर्ने गरिन्छ । उनका सार्बजनिक अभिब्यक्तिले पनि त्यस्तै संकेत गर्ने गरेको थियो ।

तर बैंकहरुमा तरलता अभावका कारण बैंकहरुले दिने निक्षेप र कम्पनीले दिने प्रतिफल उस्तै भएपछि लगानीकर्ताहरु निरुत्साहित हुँदा अर्थमन्त्री आउँदा संयोगबस यही बेलामा बजार घटेको अर्काथरी बिश्लेषकहरुको टिप्पणी छ ।

एक अर्का बिश्लेषक भन्छन्, ‘यही समयमा बैंकिङ क्षेत्र तरलता अभावको समस्यामा छ । तरलता अभाबको कारण बैंकहरुले दिने कर्जाको ब्याजदर १५ प्रतिपशतभन्दा बढी छ । सूचीकृत कम्पनीले दिने औसत वार्षिक प्रतिफल पनि त्यही १५ प्रतिशतको हाराहारीमा छ । कम्पनीको शेयरमा लगानी गर्दा कर्जाको ब्याज र कम्पनीले दिने प्रतिफल करिब उस्तै भएपछि बजारमा लगानीकर्ता निरुत्साहित हुन स्वाभाविक नै हो ।’

संयम भएनन् कि !

अहिले ब्रोकरहरु शेयर बजार नियामक निकाय धीतोपत्र बोर्डले बजारको उतारचढावबारे बोल्न प्रतिबन्ध लगाएको छ । तर आफूले शेयर बजारको अवस्था बुझी आफुहरुले कुनै प्रतिक्रिया नदिएका बेला मन्त्रीकै अभिव्यक्तिले बजार प्रभावित भएकोमा ब्रोकरहरुको गुनासो छ ।  

शेयर बजारलाई व्यस्थित बनाउन खास नीतिको खाँचो भए पनि साना साना अभिव्यक्तिले असर पर्ने बजारबारे मन्त्री गम्भीर नभएकोबारे एक ब्रोकरले चिन्ता व्यक्त गरे ।  ‘खासगरी शेयर बजारका लगानीकर्ताहरु स सना कुराहरुले प्रभावित हुने हुँदा जथाभावी बोल्नै नहुने भन्दै बोर्डले बजारबारे बोल्नै रोक लगाएकै बेला अर्थमन्त्रीले सावैजनिक रुपमा शेयर बजारको लगानी अनुत्पादन भन्ने अर्थको अभिव्यक्ति बोल्दा ख्याल गरेनन् कि !’ एक ब्रोकरले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्