
खाटा बसिसकेको घाउ कोट्याएपछि यशकुमार र बाबु बोगटीबीचको सम्बन्धमा तिक्तता सुरु भएको छ ।
कुनै समय नङ र मासुजत्तिकै सम्बन्ध थियो । एउटै समुदायबाट प्रतिनिधित्व गर्ने भएर पनि होला उनीहरुबीचको घनिष्ट दोस्ती तर अहिले गीतको मामलामा लफडा चलिरहेको छ ।
प्रसंग हो, १२ वर्षअघि बाबु बोगटीले गाएको सिउँदोमा कोरिएको सिमाना गीतको । यशकुमारकै शव्द र संगीत रहेको सो गीत बाबुले गाएका थिए । तर, गीत उति चलेन ।
ठीक १२ वर्षपछि ओझेलमा परेको आफ्नो सिर्जना अगाडि ल्याउन भन्दै सोही गीत यशकुमारले एकदेव लिम्बूलाई गाउन दिएको समाचार आजको जनआस्थामा छ ।
त्यसबेला बाबु अमेरिकामा थिए । आफैंले गाएको गीत युट्युबमा अर्कैको नाममा आएपछि छाँगाबाट खसेजस्तो भए ।
आफ्नै मित्रविरुद्ध कपीराइटको मुद्दा दर्ज गर्न भन्दै कालिकास्थानस्थित नेपाल प्रतिलिपि रजिस्टार्डको कार्यालय पुगे । त्यहाँका रजिस्टार्ड राजेन्द्र सिग्देलले बाबुलाई लिखित उजुरी दिन आग्रह गरे ।
भोलिपल्ट उजुरी लिएर आउँछु भनेका बाबु फर्किएनन् ।
बरु प्रस्तोता समाज नेपाललाई गुहार्न पुगे । त्यहाँका प्रमुख तुलसी पराजुलीले मध्यस्तकर्ताको भूमिका खेल्दै बाबु र यशलाई राखेर कुरा मिलाए ।
स्रोतका अनुसार त्यहाँ बाबुले एकदेव लिम्बुलाई बधाइ पनि दिए । उनले गाएको गीतमा बाबुको नाम समावेश गर्न नपाउँदै बाबुले मिडियाबाजी गरेको र उल्टै आफूलाई धोखेबाज भनेकोमा र नैतिकताको सवाल उठाएपछि यश बाबुसँग चिढिएका छन् ।