३२ असार २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठक : प्रहरी प्रमुख चयन गर्ने विषयमा कुनै निर्णय भएन

चैत २७, २०७४
मन्त्रिपरिषद् बैठक : प्रहरी प्रमुख चयन गर्ने विषयमा कुनै निर्णय भएन

काठमाडौं, २७ चैत– मंगलवार विहानदेखि बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आजको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (प्रमुख) चयन गर्ने सम्बन्धमा निर्णय हुने अपेक्षा गरिए पनि त्यससम्बन्धी कुनै निर्णय भएको छैन । 

गृह मन्त्रालय स्रोतका अनुसार दुवै प्रहरी संगठनका प्रमुख चयनको निर्णय अर्को बैठकमा हुने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद बैठक मंगलवार नै दोस्रो पटक पनि बस्ने संभावना छ । 

‘आज राति १२ बजेदेखि दुवै प्रहरी संगठनका प्रमुखको सेवा अवधि सकिदै छ । त्यसैले दुवै संगठनको प्रमुख चयनका सम्बन्धमा तत्काल निर्णय गनुपर्ने देखिन्छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने, ‘आज (मंगलवार) नै दोस्रोपटक पनि मन्त्रिपरिषद बैठक बस्न सक्छ ।’

मंगलवार विहानको बैठकमा भने प्रहरी प्रमुख चयन गर्ने विषयमा कुनै प्रस्ताव पेश नभएको जनाइएको छ । गृह मन्त्रालयले आर्इजी चयनका सम्बन्धमा प्रस्ताव नपठाएको हो । 

‘हामीहरुलाई आज (मंगलवार) साँझसम्म दुवै प्रहरी संगठनका संभावित प्रमुखको टिप्पणी उठाएर प्रस्ताव बनाउन भनिएको छ,’ गृह मन्त्रालयका सुरक्षा महाशाखाका एक अधिकारीले लोकान्तरसँग भने, ‘आज विहानको बैठकमा गृह मन्त्रालयबाट कुनै प्रस्ताव पेश भएको छैन । हामीले प्रस्तावबारे तयारी गरिरहेका छौं ।’

नेपाल प्रहरीको आगामी महानिरीक्षकका लागि ३ जना नायव महानिरीक्षक (डिआईजी)को नाम चर्चामा छ । बरियताका आधारमा एक नम्बरमा रहेका सर्वेन्द्र खनाल, दुई नम्बरमा रहेका रमेश खरेल र तीन नम्बरमा रहेका पुष्कर कार्की प्रहरीको आइजी हुने दौडमा छन् । 

यस्तै सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायणबाबु थापा प्रतिस्पर्धामा छन् । बरियताका आधारमा सशस्त्रमा शैलेन्द्र खनाल अगाडि छन् भने उनीभन्दा ११ महिनापछि एआईजीमा बढुवा भएका केसी र थापा पनि आर्इजी बन्न चर्काे लबिङमा छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्