
विराटनगर, २४ वैशाख– खोटाङको बराहपोखरी गाउँपालिका–२ धाप्लाङस्थित सुनकोशी नदीले बगाएर तीन बालबालिका बेपत्ता भएका छन् । नदी किनारमा बाख्रा चराउन गएका स्थानीय १२ वर्षका सुवन श्रेष्ठ, १० बर्षका सविन माझी र ११ वर्षकी अनिता माझीलाई खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार बाख्रा चराउन गएका उनीहरू नदीमा पौडी खेल्नेक्रममा बगाएको हुनसक्ने भन्दै प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए । बेपत्ता बालबालिकाहरूको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।
घटनास्थल धाप्लाङ ईलाक प्रहरी कार्यालय चिसापानीबाट ८ घण्टाको दुरीमा रहेको छ ।
यस्तै, धनकुटामा तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । साँगुरीगढी गाउँपालिका–३ कुशेटारमा साताअघि नदीमा पौडी खेल्नेक्रममा बगाएर बेपत्ता भएका धनकुटा चौबिसे गाउँपालिका–६ बस्ने चन्द्रसिंह राईका १४ बर्षका छोरा रामकुमार राईको शव आइतबार साँझ फेला परेको हो ।
साँगुगढी गाउँपालिका–४ मा बालकको शव खोलामा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।