२९ असार २०८३, सोमबार

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध नियाल्ने ऐना

कात्तिक २०, २०७४
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध नियाल्ने ऐना
यो मुलुक ‘ठूलो’ हुने सम्भावना छैन । तथापि यो प्रतिष्ठित भने हुनसक्छ।
• चीनले गरेरै देखाउँछ,भारतले बोलेरै सिध्याउँछ;काम त कता हो कता !
• अहिले स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्ने अवसर र चुनौती दुबै प्राप्त छन्।

‘नेपाल: छिमेक र विश्व’ पुस्तकका लेखक कृष्णप्रसाद सिग्द्यालको अवधारणामा माथि दिइएका तीनटा बुँदाका अतिरिक्त सम-सामयिक सन्दर्भमा घोत्लिनु पर्ने दर्जनौ विषयवस्तु समावेश भएका छन्। पुस्तकको केन्द्रविन्दु नेपाल हुनाले यसैको वर्णन र सामर्थ्यको चर्चामा लेखकको मेहनत परेको छ। भौगोलिक,मौसमी,साँस्कृतिक र जैविक विविधतालाई ध्यानमा राखेर भनिएको छ: “नेपाललाई आफैंमा एउटा ‘सानो महादेश’ भन्न सकिन्छ।“ यस अभिव्यक्तिमा कतिपय पाठकले महाकवि देवकोटाको निबन्ध ‘के नेपाल सानो छ ?’ प्रभाव देख्न सक्छन् । होला पनि, तर वि.सं.२००२ मा लेखिएको लक्ष्मीनिबन्धले नेपाललाई देशको रूपमा मात्र चित्रण गरेको छ, महादेशको रूपमा होइन।Dhruba-dai-image_1
सिग्द्याल पत्रकारितामा रहेर पेशागत अनुभव सँगालेका लेखक हुनाले उहाँले विवेच्य कृतिलाई यसअघिका आफ्ना तीनवटा पुस्तकसरह तथ्यपरक बनाउनु भएको छ। अध्ययन र अन्वेषणमा निकै समय खर्च गरेको हुनाले नै होला, तथ्य आँकडा विवरणहरू उपयोगी औ भरपर्दा छन्। थाह भएकै कुरो हो, स्रोत आधार र प्रमाण बेगरका मामिला पत्रकारका कार्यक्षेत्रमा पर्दैनन्। चर्चित विषयहरूमा वस्तुनिष्ठ व्याख्या विश्लेषण मूल दायित्वभित्रैका कुरा भए। सन्दर्भबाहिर गएर वा फूलबुट्टा भरेर सिर्जनशील (साहित्यकार) हुने सुविधा र समय पत्रकारसित हुँदैन। हो, समाचारका शीर्षक लेख्दा त्यसलाई आकर्षक बनाउने क्रममा केही शब्द खेलाउन त पाइन्छ तर पेटबोलीमा परेका घटना-वर्णनले पत्रकारलाई धेरै बहकिन भने दिँदैन । आँकडाहरू भने बेला-बेलामा अद्यावधिक भैरहनु पर्छ।

पुस्तकको ‘प्राक्कथन’ मै आम मानिसलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे यथासक्य सरल भाषामा सत्यतथ्य जानकारी उद्देश्य लिएर लेखाइको थालनी गरिएको भनिएको छ। तसर्थ समेटिएका विषय,घटना एवं प्रसङ्ग सत्यतथ्यको दायराबाट बाहिर जाने कुरै आउँदैन। करिव तीनशय पृष्ठको पाठ्यसामग्रीलाई १० वटा अध्यायमा बाँडिएको छ। विश्व ब्रह्माण्ड कस्तो छ र त्यस परिवेशमा नेपाललाई कहाँ फेला पार्न सकिन्छ त्यसको उल्लेख गर्ने सिलसिलामा लेखकले देश-विदेशका अनेक विद्वान् अन्वेषकहरूका अध्ययन, तिनका प्रतिवेदन र ठहरहरू उध्दृत गर्नुभएको छ। खुसीलाग्ने कुरा, ती अध्येता अनुसन्धानकर्ताको लहरमा प्रज्जवल काफ्ले (अष्ट्रेलिया), सुदर्शन कार्की (अमेरिका),सुमन सत्याल (अमेरिका) र सुरेन्द्र अधिकारी (अमेरिका) जस्ता नामहरू पढ्न पाइन्छ। पृथ्वीनारायण शाहले निर्माण गरेको नेपालको महत्व यसको आध्यात्मिक आयामसित कसरी गाँसिएको छ त्यसको निरूपण डा.रमेश ढुङ्गेल समेतका अध्येताहरूबाट भएको छ। निकट छिमेकका भारत र चीन अनि अन्य छिमेकीहरूबारेको जानकारी भिन्दाभिन्दै अध्यायमा दिइएको छ। त्यसैगरी, किताबमा अन्य मित्रराष्ट्र र संयुक्त राष्ट्रसंघबारे विस्तृत सूचना-सामग्री तथा समकालीन विश्वले सामना गरिरहेका चुनौतीहरू र तिनको सामना गर्न के-के उपाय अपनाउन सकिन्छ तिनको सप्रसङ्ग विवेचना भेटिन्छ। परराष्ट्र नीति र सार्थकताबारेको जानकारी प्रस्तुत गर्दा सिग्द्यालले नेपालको सन्दर्भमा कूटनीतिमा गहकिलो योगदान गर्ने प्रोफेसर यदुनाथ खनाल र जर्नेल पद्मबहादुर खत्रीको उल्लेख गर्नुभएको देखिन्छ।

हाल विवादमा रहेको संविधान र नेपालमाथिको भारतीय नाकाबन्दी एक-अर्कासित गाँसिएका मामिला हुन्। लेखकको यी बुँदाबारेका विवेचनाप्रति दृष्टिकोण फरक हुन सक्लान् तर तिनको उपेक्षा गर्न सकिंदैन। नेपालप्रति भारतको व्यवहार सदैव नै आलोचनायुक्त, गराउन र राख्नमा भारतीय शासक-प्रशासकहरू नै जिम्मेवार छन्। नेपालको उन्नति, प्रगतिमा तगारो हुने काम प्रत्यक्ष/परोक्ष रूपमा दिल्लीले गर्दै आएको छ। यो निचोडमा पुग्न लेखकले आफू सहभागी भएका कतिपय छलफल र भ्रमणमा प्राप्त सूचना र अनुभवलाई आधार बनाउनु भएको छ। अनेक सकस र सङ्कटमा पारिए पनि नेपाल नेपाल नै रहनेछ भन्ने लेखकको निष्कर्ष छ: “ भारतले नेपाल भुटान होइन भन्ने बुझ्न नसकेको मात्र होइन, भुटान पनि सधैं भुटान रहने छैन भन्ने पनि बुझेको छैन।“ अनेक घात,प्रतिघातका बाबजूद विशिष्ट भूराजनीतिक अवस्थितिले नेपालको अस्तित्व नै मेटिने गरी वाह्य प्रभुत्व स्थापित हुने सम्भावना छैन भन्ने दिवंगत कानूनविद् गणेशराज शर्माको मूल्याङ्कनलाई पनि लेखकले यथोचित् महत्व दिनुभएको छ। दक्षिण एसिया र नेपालको परिप्रेक्षमा यस पुस्तकमा गरिएको विवेचना गहन छ, तसर्थ सिङ्गो किताब नभए पनि चर्चित खण्ड चाहिँ अंग्रेजीमा प्रकाशित गर्नु उपयुक्त होला । सभ्य विश्वलाई दक्षिण एसिया र नेपालमा भैरहेको भारतीय ज्यादतीबारे किन बेखबर राख्ने ?

यस किताबबारे मन्तव्य दिने प्राध्यापक द्वय केदारभक्त माथेमा र त्रिरत्न मानन्धर दुबैले यसलाई जानकारीमूलक, रोचक र विश्लेषणात्मक मान्नुभएको छ । त्यसैले म पनि यस कृतिको उपयोगिताबारे आश्वस्त भएको हुँ।

----------------एक झलकमा----------------------
कृति: नेपाल : छिमेक र विश्व
लेखक: कृष्णप्रसाद सिग्द्याल
प्रकाशक: साङ्ग्रिला पुस्तक प्रा.लि
संस्करण: पहिलो, २०७३ माघ
पृष्ठसंख्या: ३२८ +
मूल्य : रु ४५५/-




ध्रुवहरि अधिकारी

salt training

कमेन्ट गर्नुहोस्