
काठमाडौं, १७ असार – फूटबल जगतमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको शत्रुताको खुबै चर्चा हुने गर्छ । चालू विश्वकपमा उनीहरूको कप्तानीमा रहेको टोली बाहिरिइसकेको छ ।
शनिवार पहिलो खेलमा मेस्सीको अर्जेन्टिना फ्रान्सविरुद्ध हारेर प्रतियोगिताबाट बाहिरियो भने रोनाल्डोको पोर्चुगल उरुग्वेसँग पराजित भयो ।
फ्रान्सका किलियन एम्बाप्पेको तीव्र गतिको खेल र दुई शानदार गोलका कारण अर्जेन्टिनाको रक्षापंक्तिलाई तहसनहस पार्दै फ्रान्सले राउन्ड अफ १६ मा ४–३ को जीत हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
मैदानमा एम्बाप्पेको आक्रामकताले सबैलाई प्रभावित पा–यो । उनी टीमलाई पेनाल्टी किक दिलाउन समेत सफलता पाए जसकारण पहिलो हाफमा फ्रान्स अत्यन्तै खतरनाक देखिएको थियो ।
मेस्सीको दिल तोड्ने यो हारका लागि जिम्मेवार एम्बाप्पे पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका प्रशंसक हुन् ।
उनले रियल मड्रिडका सुपरस्टार खेलाडी रोनाल्डोको खेल हेरेरै फूटबल खेल्न सिकेका हुन् । एम्बाप्पेले आफ्नो कोठामा रोनाल्डोका अनेकौं पोस्टरहरू टाँस्ने गरेका थिए ।
हुन पनि एम्बाप्पेको तुलना रोनाल्डोसँगै गरिन्छ । यी १९ वर्षीय फरवार्डले सन् २०१७ देखि देशका लागि खेल्न थालेका थिए । उनले ६ खेल खेलेका छन् र पाँचमा गोल गरेका छन् । उनले गोल गरेको खेलमा फ्रान्स हारेको छैन ।
कम उमेरमा विश्वकपको कुनै एक म्याचमा दुई गोल गर्ने उनी पेलेपछिका दोस्रा खेलाडी हुन् । यसअघि ब्राजिलका महानतम फूटबलर पेलेले सन् १९५८ मा स्विडेनविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।
एजेन्सी