२० असार २०८३, शनिबार

घरभित्रै डुबेर बेहोश भएकी एक्ली वृद्धाको रोदन – ‘बाढीबाट प्रहरीले बचायो, अब कसरी बाँच्नु ?’

असार २९, २०७५
घरभित्रै डुबेर बेहोश भएकी एक्ली वृद्धाको रोदन – ‘बाढीबाट प्रहरीले बचायो, अब कसरी बाँच्नु ?’

काठमाडौं – भक्तपुर सिर्जनानगरमा इँट्टा र जस्ताले निर्मित एउटा टहरा छ । सो टहरामा जाने बाटोमा बिहीवारको बाढीले थुपारेको हिलो अझै सुकेको छैन ।

शुक्रवार दिउँसो हामी त्यहाँ पुग्दा ६० वर्षीया सोमती तामाङ टाउकोमा हात राखेर दैलोमा बसिरहेकी थिइन् । घरको ढोकासम्मै अझै बाढीको पानी थियो ।

बुधबार राति हनुमन्ते खोलामा आएको बाढीले घरभित्रै डुबेकी तामाङलाई सुरक्षाकर्मीले अस्पताल पुर्‍याएका थिए ।

‘रातभरि पानी परेपछि सुतेकै थिइनँ, खाटमा बस्दाबस्दै एक्कासि बाढी आएर खाटमै डुबायो । बाहिर निस्किनै सकिनँ । बाँच्दिन जस्तो लाग्यो । म त बेहोस नै भएछु,’ तामाङले त्यो भयानक रात सम्झिँदै लोकान्तरसँग भनिन्, ‘कुन बेला प्रहरी आएर मलाई अस्पताल लगेछन् । बिहान १० बजे होश आउँदा अस्पतालमा रहेछु ।’ 

होश आएपछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । अस्पतालबाट फर्किँदा घर डुबानमै थियो । त्यहाँ बस्ने अवस्था नभएपछि छिमेकीको घरमा सहारा लिएर रात गुजारिन् । बिहानै उठेर आफ्नो घरमा आइपुगेकी तामाङ भिजेका ओछ्यान र घरका सामानहरू हेरेर टोलाउँदै थिइन् ।

‘बिहानको खाना छिमेकी दाइले ल्याइदिनुभयो, त्यही खाएँ । घरभित्र पसेको बाढी अझै सुकेको छैन । हिलो छ । चिप्लिन्छ । भिजेका सामान अझै निकाल्न सकेकी छैन,’ यति भन्दै गर्दा उनका आँखा रसाए ।

उनले थपिन्, ‘अब त बुढी भइसकेँ । सास रहुञ्जेल दुःख गर्नैपर्ने रहेछ । कहिलेसम्म यसरी बस्नुपर्ने हो, थाहा छैन,’ उनका गला अवरुद्ध भए ।

लोकान्तरसँग कुराकानी गर्दैगर्दा उनका दुई छिमेकी आइपुगे । उनीहरूकै सहयोगमा डुबेका शिरक डसना बाहिर निकालिन् ।

विगत २२ वर्षदेखि भक्तपुर सिर्जनानगरमा बस्दै आएकी तामाङको स्थायी घर काभ्रे हो । उनका आफ्नै छोराछोरी छैनन् । सौताका एक छोरा छन् ।

श्रीमान २ वर्षअघि बितेपछि तामाङ एक्लै भएकी हुन् । श्रीमान बितेपछि उनलाई सौताका छोराले वास्ता गरेका छैनन् ।

सिर्जनानगरमा अरुको खेतमा अधियाँमा कमाएर गुजारा गर्दै आएकी तामाङ साहुकै जग्गामा टहरा बनाएर बसेकी हुन् ।

‘बाहुनहरूले एक्लो छ, बसोस्, भनेर दया गरेर अलिकति ठाउँ मात्रै दिएका हुन्, मेरो जग्गा होइन यो,’ तामाङले मलिन हुँदै भनिन्, ‘बाहुनहरूकै जग्गामा खेती गरेर बसेको छु । अब त बल पनि छैन । बुढी हुँदै गएँ । बाढीबाट त प्रहरीले बचायो, अब कसरी बाँच्ने हो ! पहिला जसरी काम गर्न पनि सक्दिनँ ।’ 

बल हुँदा साहुको खेती गरेर खाए पनि काम गर्न नसक्ने भएपछि कसरी गुजारा चलाउने भन्ने चिन्ता उनलाई छ । सरकारले कतै बस्ने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने चाहन्छिन्, उनी ।

बुधबार राति हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको भक्तपुर क्षेत्र अहिले क्रमशः पुरानै अवस्थामा फर्कने क्रममा छ । मानिसहरू आफ्नो घरभित्र पसेको हिलो र फोहोर पानी सफाइ गर्नमा व्यस्त छन् ।

तामाङजस्तै डुबान प्रभावितको जनजीवन अझै सामान्य बन्न सकिरहेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्