
काठमाडौं – अनशनरत डा. गोविन्द्र केसीका मागको विषयमा सरकारी टोली र डा. केसी पक्षबीच वार्ता शुरू भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा साढे ५ बजे वार्ता बस्ने भनिएपछि वार्ता केही समय ढिलो शुरू भएको हो । यसअघि सरकारको तर्फबाट नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको अनौपचारिक वार्तापछि मन्त्रालयमा औपचारिक वार्ता बस्न लागिएको डा. केसी पक्षबाट वार्तामा सहभागी भएका सुरेन्द्र भण्डारीले जानकारी दिए ।
‘हामीले दिउँसो सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग अनौपचारिक वार्ता गरेका थियौं,’ भण्डारीले लोकान्तरसँग भने, ‘अनौपचारिक वार्तामा सरकारले डा. केसीका सबै मागमा म्यान्डेटसहित खुल्ला छलफल गर्ने भएपछि हामी वार्ता बस्न लागेका हौं ।’
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा भइरहेको वार्तामा डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीले संयोजन गर्दैछन् । डा. केसी स्वास्थ्य र मेडिकल शिक्षाका विषयमा विभिन्न माग राख्दै २५ दिनदेखि अनशनरत छन् ।