०१ साउन २०८३, शुक्रबार

म्यानपावरको धरौटीमा दुईथरी मापदण्ड, ६ करोड धरौटी हालको अवस्थामा दुई कम्पनीलाई मात्र !

असोज ४, २०७५
म्यानपावरको धरौटीमा दुईथरी मापदण्ड, ६ करोड धरौटी हालको अवस्थामा दुई कम्पनीलाई मात्र !
फाइल फोटो

काठमाडौं – म्यानपावर कम्पनीको धरौटी रकमका सम्बन्धमा दुईथरी मापदण्ड बन्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीहरूको धरौटी रकम ६ करोड पुर्‍याउने तयारी गरेको थियो । मन्त्री गोकर्ण विष्टले सो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए ।

गत शुक्रवारको मन्त्रिपरिषद् बैठकमा छलफल भएपछि धरौटीको मापदण्ड दुईथरी बनाउने गरी प्रस्तावमा परिमार्जन गरिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

अब वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीको धरौटी रकम ६ करोड हुनुपर्ने छ भने त्यसभन्दा कम कामदार पठाउनेले ३ करोड रुपैयाँ मात्र धरौटी राखे पुग्छ ।

‘मन्त्रीज्यूले सबै म्यानपावर कम्पनीको धरौटी रकम ६ करोड बनाउने प्रस्ताव क्याबिनेटमा लानुभएको थियो,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘तर क्याबिनेटमा भएको छलफलमा सबै म्यानपावरलाई ६ करोड धरौटी बनाउने विषयमा सहमति भएन । मन्त्रीज्यूले लानुभएको प्रस्ताव क्याबिनेटबाट अस्वीकृत भएपछि परिमार्जन गरिएको हो ।’

६ करोड धरौटीको मापदण्डमा पर्ने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी बुझाउनुपर्ने छ । यस्तै ३ करोड धरौटी तोकिएकाहरूका लागि १ करोड नगद र २ करोड रकम बैंक ग्यारेन्टी हुनुपर्ने व्यवस्था सहितको वैदेशिक रोजगार ऐन संशोधन विधेयक तयार भएको छ ।

उक्त विधेयक केहीदिन भित्रै संसदमा दर्ता हुने जनाइएको छ ।

दुई कम्पनीलाई मात्र ६ करोड !

वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४/७५को तथ्याङ्क अनुसार वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनी दुईवटा मात्रै छन् ।

द रिभर ओभरसिज प्रा.लि. र कोशी इन्टरनेसनल प्रा.लि.ले मात्रै वार्षिक ५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । तर म्यानपावर कम्पनीको संख्या भने दुई हजारभन्दा माथि छ ।

हाल म्यानपावर कम्पनी दर्ताका लागि अनुमति लिन ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी हुनुपर्ने व्यवस्था छ ।

मन्त्री विष्टले म्यानपावर कम्पनी मात्रै धेरै हुँदा वैदेशिक रोजगारीमा विकृति बढेको भन्दै कम्पनीलाई मर्जरमा प्रेरित गर्न धरौटी रकम ६ करोड पुर्‍याइने बताउँदै आएका थिए ।

आफ्नो पूर्व प्रतिबद्धता शत प्रतिशत पूरा नभए पनि धरौटी रकम लाखबाट करोड पुग्नुलाई उपलब्धिको रूपमा लिनुपर्ने मन्त्री विष्टको तर्क छ ।

‘सबैलाई नभए पनि ५ हजारभन्दा माथि कामदार पठाउने म्यानपावरलाई ६ करोड नै छ, त्यो भन्दा कम कामदार पठाउनेलाई पनि ३ करोड पुर्‍याइँदैछ,’ मन्त्री विष्टले लोकान्तरसँग भने, ‘सात लाख मात्रै धरौटी भएको म्यानपावरको धरौटी करोड पुर्‍याउनु पनि सकारात्मक कुरा हो, यसरी बुझ्नुस् न ।’

यसलाई सकारात्मक रूपमा लिन उनको आग्रह छ ।

salt training

कमेन्ट गर्नुहोस्