
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाउन लागिएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।
निर्मलाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपनि कञ्चनपुर प्रहरीले अनुसन्धानमा चासो नदिँदा स्थानीयले आन्दोलन शुरू गरेका थिए ।
निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भन्दै कञ्चनपुर प्रहरीले भदौ ३ गते मानसिक सन्तुलन गुमाएका स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । वास्तविक अपराधीलाई जोगाउन प्रहरीले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई पक्राउ गरेको भन्दै स्थानीयले आन्दोलन शुरू गरेका थिए ।
जसक्रममा प्रहरीको गोली लागेर १ जना किशोरको मृत्यु भयो भने करीब २० जना व्यक्ति घाइते भए । प्रहरीले स्थानीयको मागलाई सम्बोधन गर्न निर्मला हत्याको सत्यतथ्य छानबिन गर्न भन्दै भदौ ७ गते मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिलाई १५ दिनको समयसीमा तोकिए पनि भदौ २५ गते पुनः १५ दिनको म्याद थपिएको थियो । समितिको दोस्रो पटकको म्याद थपप्रति असन्तुष्टि जनाएका समितिका सदस्य एवम् ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रतिवेदन तयार भएकाले गृहमन्त्रीलाई बुझाउन लागिएको बताए ।
‘समितिले घटनासँग सम्बन्धित सबै विषयमा गम्भीर अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको छ,’ उपसचिव केसीले लोकान्तरसँग भने, ‘आजै गृहमन्त्रीज्यूलाई बुझाइन्छ ।’
पुनः छानबिन गर्नु नपर्ने
समितिका सदस्य केसीले निर्मलाको बलात्कार हत्याको सम्बन्धमा आफूहरूले पूर्ण रूपमा अनुसन्धान गरेको बताए । घटनासँग सम्बन्धित सबै पक्षबारे सुक्ष्म अनुसन्धान गरेर प्रतिवेदनमा उल्लेख गरिएकाले पुनः अनुसन्धान गर्नु नपर्ने केसीको भनाइ छ ।
‘घटनाको पुनः अनुसन्धान गर्नु नपरोस् भन्ने हाम्रो अपेक्षा हो,’ केसीले लोकान्तरसँग भने, ‘हामीले पुनः अनुसन्धान गर्नु नपर्ने गरी अनुसन्धान गरेका छौं ।’
संदिग्ध अभियुक्तको पहिचान
समिति स्रोतका अनुसार प्रतिवेदनमा निर्मला हत्या प्रकरणका संदिग्ध अभियुक्तको विवरण समेत उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइ छिट्टै दोषी पक्राउ पर्ने समितिका एक अर्का सदस्यको दाबी छ ।
‘हामीले घटनाका संदिग्ध र घटनामा उनको संलग्नताको आधार समेत प्रतिवेदनमा पेश गरेका छौं,’ समितिका ती सदस्यले नाम नबताउने शर्तमा लोकान्तरसँग भने, ‘यदि प्रतिवेदनमा उल्लेख भएअनुसार अबको कारवाही प्रक्रिया अगाडि बढाइए दोषी पक्राउ पर्छन् ।’