वीरेन्द्र कटुवाल
भन्थे अग्रजहरू,
एक युगमा एक दिन एकचोटि आउँछ भनेर ।
लागेथ्यो,
यो युगको त्यो दिन आयो,
समाजवादको विमान चढेर ।
तरेर,
दुःख र दर्दका जँघारहरू,
सुस्ताएथ्यौं,
चहर्याएका आँतहरू बोकेर ।
र,
आशाको आँखीझ्यालबाट
बाटो हेरिबसेथ्यौं,
कतिबेला समृद्धिको घाम झुल्किन्छ भनेर ?
के थाहा ?
समाजवादमा आँसुको मूल्य,
पानीको जत्तिपनि हुन्न भनेर ।
के जान्नु ?
गरीबको राजमा यसरी,
न्याय किन्नै नसक्नेगरी महँगिन्छ भनेर ।
के पता ?
बेइमानहरू नै न्यायको छडी बोकेर,
निसाफ बेच्दै हिँड्छन् भनेर ।
के चिन्नु ?
यस्तो सत्ताको छद्मवेश,
जहाँ निसाफ खोज्दै हिँड्नुपर्छ,
बलात्कृत छोरीको लाश बोकेर ।
लाग्थ्यो,
ठोके कुलेलम सामन्ती छेपाराहरूले,
भागे,
जुकाहरू पोकापन्तरा बोकेर ।
भर्सेला परे नर्कतिर,
उडुस, उपियाँ र जुम्रा, हिजोका सबै मस्ती भुलेर ।
तर अचम्म,
अरिङ्गालले पनि आफ्नो रङ्ग फेर्दा र‘छन्,
कहाँ छेपाराले मात्रै र‘छ र ?
अवतार त,
जुका, उडुस, उपियाँ र जुम्राहरूको पनि हुँदोर‘छ,
कहाँ देवीदेउताहरूको मात्रै हुँदो र‘छ र ?
लागेथ्यो,
कर्मी मौरीहरू भित्रिए,
हातभरि ज्यावल र मनभरि जाँगर बोकेर ।
आशा थ्यो,
जोडिनेछन् अब जनजनका मनहरू,
विभेदका सीमारेखाहरू मेटेर ।
तर अपसोच,
सारमा त यी राता अरिङ्गाल पो र‘छन्,
आएका मौरीको रूप फेरेर ।
थाहा छैन ?
न्यायनिसाफ खोज्दै,
कतिसम्म अझै यसरी,
भौंतारिनुपर्ने हो मुसाफिर बनेर ?