०३ साउन २०८३, आइतबार

शहीद परिवारलाई श्रम शोषण गरेको आरोप किन लाग्यो राज्यमन्त्री शर्मामाथि ?

कात्तिक ३, २०७५
शहीद परिवारलाई श्रम शोषण गरेको आरोप किन लाग्यो राज्यमन्त्री शर्मामाथि ?

जनकपुरधाम – मधेश आन्दोलनको जगमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा सरकार सञ्चालन गरेको भएपनि सरकारका मन्त्रीले शहीद परिवारलाई शोषण गरेको खुलासा भएको छ ।

शहीदको बलिदानपछि जितेर अहिले मन्त्रीसम्म बन्न सफल भएपनि मन्त्रीबाटै शहिद परिवारको शोषण हुने गरेको पाइएको छ । मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिएपनि श्रम र आर्थिक शोषण गरिएको पीडित शहीद परिबारले आरोप लगाएका छन् ।

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले शहीद परिवारलाई रोजगारी दिएपनि श्रम शोषणका साथसाथै तलबमा हिनामिना गरिरहेको आरोप लागेको छ । मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका महोत्तरीको जलेश्वर नगरपालिकास्थित बखरी गाउँका शहीद अमित कापरको परिवारलाई राज्यमन्त्री शर्माले रोजगारी दिएका थिए । 

शहीद अमित कापरकी आमा चन्द्रकला देवीले लोकान्तरलाई दिएको जानकारी अनुसार राज्यमन्त्री शर्माले छोरा सुजित कापरलाई भान्सेको जागिर दिएपनि एकै जनाको तलबमा २ जना छोरालाई काममा लगाइएको छ ।

‘मन्त्री ज्यूले तलब १ जनाको मासिक १८ हजार रुपैयाँ दिने भनेर भन्नुभयो । तर, उहाँको घरमा भान्सेको काम गर्न २ जना छोराहरू सुजित र सञ्जितलाई भन्नुभयो,’ चन्द्रकलाले भनिन्, ‘शुरूमा १५ दिनसम्म दुवै छोराले काम गरे । तर, मैले एउटा छोरा विदेश जान्छ भनेर काम छाड्न लगाए ।’ 

गत साउन १० गते भान्सेमा छोरालाई नियुक्ति दिएपछि ३ महिनाको तलब दिए तर शुरूमा दशैं पेश्की काटेको उनले बताइन् । त्यसपछि स्थानीय पत्रकारलाई भनेपछि दशैं पेश्की मिलेको उनले बताइन् ।

‘शुरूमा ३ महिनाको तलब दिनुभयो । तर, दशैं पेश्की भने काट्नुभयो,’ उनले भनिन्, ‘मन्त्री ज्यूको स्वकीय सचिव सुरेश ठाकुरले मेरो श्रीमान रामबृछ ठाकुर (शहीद अमितका बुवा) लाई जलेश्वर लगेर दशैंको पेश्की काटिएको छ, पाउनुहुन्न भनेर बाँकी तलब दिनुभयो । तर, दशैंको पेश्की भने दिनुभएन ।’

शहीद अमितकी पत्नी मन्तोरिया देवीका अनुसार सुनित र सञ्जितले १५ दिनसम्म मन्त्री निवासमा खाना पकाउने काम गरेको बताइन् । ‘तर, तलब १८ हजार रुपैयाँबाटै दुवैलाई बाँडेर दिने कुरा गर्नुभएको थियो,’ उनले भनिन्, ‘दुवै दाजुभाइ त्यहीँ पैसामा काम गर्ने हो भने गर, नत्र मलाई अर्को व्यक्ति पनि राख्नुपर्छ र त्यही पैसाबाट काटेर दिनुपर्छ भनेर समेत भनेका छन् ।’ बिहान ६ बजेदेखि राति ११ बजेसम्म निवासमा काम गरेर धेरै मिहिनेत हुने गरेको उनले बताइन् ।

शहीद परिवारको आरोपबारे बुझ्दा राज्यमन्त्री शर्माले त्यस्तो कुनै कुरा नरहेको बताए । ‘मविरुद्ध राजनीतिक षड्यन्त्र गरिएको छ । मैले आफ्नो सचिवालय अन्तर्गत भान्सेमा शहीद परिवारलाई रोजगारी दिएको हो । श्रम शोषण र आर्थिक शोषण मैले गरेको छैन,’ उनले भने, ‘मैले आफैंले बोलाएर सचिवालयमा जागिर दिएको छु, ठग्ने कुरा आउँदैन ।’ निवासमा ४ जनाको परिवार रहेको बताउँदै राज्यमन्त्री शर्माले १ जना सुरक्षाकर्मी, १ जना चालकसहित ६ जनाको भान्सा बनाउनुपर्ने उनले बताए । ‘त्यसमा मैले के कति श्रम शोषण गरेको होला ?’ उनले भने ।

दशैं पेश्कीदेखि १ जनाको ठाउँमा २ जनालाई काम गराउने कुरा पनि गलत रहेको उनले बताए । ‘जुन व्यक्तिलाई मैले भान्सेमा नियुक्त गरेको थिएँ, उनी काममा नआउँदा उनका भाईले आएर काम गर्ने गरेका छन्,’ राज्यमन्त्री शर्माले भने ।

राजपाको टिकटमा महोत्तरीको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा प्रदेश सरकारमा राज्यमन्त्री छन् ।

salt training

कमेन्ट गर्नुहोस्