२९ असार २०८३, सोमबार

नेकपाको चियापान : कार्यकर्ताको कुटपिटदेखि चिया खोज्नेहरुको ‘गस्ती’सम्म

कात्तिक १०, २०७५
नेकपाको चियापान : कार्यकर्ताको कुटपिटदेखि चिया खोज्नेहरुको ‘गस्ती’सम्म

काठमाडौं– दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुक्रवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्‍याे । 

कार्यक्रममा विपक्षी पार्टी नेपाली कांग्रेसका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संवैधानिक आयोगका पदाधिकारी, विभिन्न कर्मचारी र सबै राजनीतिक दलका नेतालाई निम्तो दिइएको थियो । नेकपाको चियापानमा पार्टीका कार्यकर्ता र सर्वसाधारणको उपस्थिति पनि बाक्लो थियो । 

हरेकजसो शनिवारका दिन व्यस्त रहने काठमाडौंको भृकुटीमण्डपमा यो शनिवार भने नेकपाको चियापानले खुट्टा हाल्ने ठाउँ पाउन पनि मुश्किल थियो । मध्याह्न १२ बजेदेखि शुरु भएको चियापानमा सहभागी हुनेको लाइन भृकुटीमण्डपदेखि पद्मोदय मोडसम्म पनि पुग्यो । नेकपाले चियापानमा ३५ हजारको उपस्थिति हुने अपेक्षा गरेपनि शीर्ष नेता, कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी कर्मचारी, संवैधानिक आयोगका पदाधिकारी, सर्वसाधारण र सञ्चारकर्मी समेत गरी करिब ८–१० हजार निम्तालु भृकुटीमण्डप पुगेका थिए । 

गेटदेखि नै नेताको नमस्कार

प्राय सबै पार्टीका कार्यकर्ताले नेताहरुलाई देख्नेवित्तिकै नमस्कार तथा अभिवादन टकर्याउँछन् । तर, शनिवार नेकपाको चियापानमा भने नेकपाका उच्च तहका नेताहरु नै कार्यकर्तालाई नमस्कर गरिरहेका थिए ।

भृकुटीमण्डपस्थित पार्कमा आयोजित कार्यक्रमको प्रवेश द्वारमै नेताहरु चियापानका आगुन्तकलाई स्वागत गर्न उपस्थित भएका थिए । नेकपा नेता दिनानाथ शर्मा, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का मन्त्री केशव स्थापित, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य लगायत नेताहरु आगन्तुकलाई स्वागत गर्न प्रवेश द्वारमा लाइन लागेर उपस्थित थिए । 

कार्यकर्ताको कुटाकुट

प्रवेश द्वारमा नेताहरुले हार्दिकताका साथ आगन्तुकको स्वागत गरिरहँदा चियापान शुरु भएको केही क्षणमै झडपको स्थिति सिर्जना हुन पुग्यो । आफूलाई नेकपाकै कार्यकर्ता बताउने खैरो रंगको जाकेट र टोपी लगाएका एक युवाले चियापान बहिस्कार गरौं भन्ने पर्चा वितरण गरेपछि तनाव भएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूहको अपील भन्दै पर्चा बाँडिएपछि नेकपाका कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । 

चिया खोज्दै हैरानी 

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि एकीकृत पार्टीको यो पहिलो चियापान थियाे । एकीकृत पार्टी भएपछिको पहिलो चियापान भएका कारण कार्यकर्ताका उपस्थिती बाक्लै देखिन्थ्याे ।  चियापानमा सहभागीहरु चिया खोज्दै यता उता घुमिरहेकाे दृश्यले कार्यक्रमकाे व्यवस्पनामा देखिएकाे कमजाेरी अाैंल्याइरहेकाे थियाे । चियापानमा खाजाको स्टल देखिए पनि धेरैले चिया राखिएको स्टल फेलै पार्न सकेनन् । कार्यक्रम स्थल साँघुरो भएका कारण व्यवस्थापन फितलो भएको र चियापानमा चिया नै पिउन नपाइएको भन्दै नेकपाका नेताले खासखुस गरिरहेका थिए । केही कार्यकर्ताले चिया पिउन नपाएकाे भन्दै 'चियापान भनेर अाएकाे मिठाइँपान पाे रहेछ' भनेर व्यङ्ग्य गरेकाे पनि सुनियाे ।

भीआईपी र कार्यकताका लागि छुट्टा–छुट्टै मेन्यु

चियापानका लागि सर्वसाधारणलाई मध्याह्न १२ बजेदेखि ३ बजेसम्म र भीआइपीका लागि ३ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको थियो । तर नेकपाका कार्यकता ५ बजेसम्म आइरहेका थिए । कार्यक्रममा सहभागीमध्ये सर्वसाधारणलाई केरा, लड्डु, निम्कीसहितको खाजा सेट राखिएको थियो भने भीआइपीको लागि छुट्टै व्यवस्था थियो । भीआइपीको खाजा सेटमा स्वान्डविचसहितको खाजा सेटको व्यवस्था गरिएको थियो । 

अव्यवस्थित कार्यक्रम

५० हजार नेता कार्यकर्तासहितका अतिथिलाई निमन्त्रणा गरिएको चियापान आयोजना स्थल अव्यवस्थित देखिएको थियो । कार्यक्रम स्थल भृकुटीमण्डप साँघुरो भएका कारण चियापानमा गएकाहरुमा ठेलमठेल देखियो । खाजाका लागि लाइनमा बसेकाहरु खाजाको दुनो त समात्थे तर ठेमलठेलले सजिले खान पाउँदैन थिए । उभिएर खाँदै गर्दा अरुले ठेलेर पर पुर्‍याइदिन्थे । कार्यक्रममा फोटो र सेल्फी खिच्नेको भीड थियो । चियापानमा गएका कतिपयले शीर्ष नेता बसेको स्थान त देखे तर शीर्ष नेताको अनुहार देख्न सकेनन् । 


ओलीको ‘सरप्राइज अनुपस्थिति’

चियापानमा उपस्थित भएकाहरु नेकपाको शीर्ष नेता को को आए भन्दै खोजिरहेका थिए । कतिपयले पछिल्लो समय असन्तुष्ट देखिएका नेता माधवकुमार नेपाल आए की आएनन् भन्दै खोजी रहेका थिए । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै बसेको फोटो खिच्न खोज्नेहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नदेख्दा कानेखुसी गरिरहेका थिए । पार्टी अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या उत्पन्न भएका कारण उनी चियापानमा उपस्थित हुन नसक्ने जानकारी महासचिव विष्णु पौडेलले पत्रकारलाई गराइरहँदा नेकपाका नेता कार्यकर्ता ओलीको प्रतिक्षामै थिए । 

देउवा आए, बाबुरामले गरे बहिस्कार 

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ढिला गरि चिया पानमा उपस्थित भएका थिए । तर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भने आफूले चियापान बहिष्कार गरेको शनिवार विहानै समाजिक सञ्जालबाट घोषणा गरेका थिए । अनावश्यक खर्च गरेको भन्दै उनले नेकपाको आलोचना गरेका थिए ।

पूर्व माओवादी र पूर्व एमालेको छुट्टा छुट्टै झुण्ड !

चियापानमा गएका नेकपाका कार्यकर्ताहरु आफ्नो पूर्व पार्टी नेता कार्यकर्ताहरुसँग झुण्ड बनाएर गफ गरिरहेका थिए । पूर्व एमालेहरु आफ्ना पूर्व एमालेका नेता कार्यकर्तासँग गफगरिरहेका थिए भने पूर्व माओवादीका नेताकार्यकर्ताहरु पनि आफ्नो पुरानै समूहसँग गफिइरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्