२० असार २०८३, शनिबार

साउदीमा पति अलपत्र, तलब माग्दा लास पठाउने धम्कीपछि पत्नी रुँदै वैदेशिक रोजगार विभागमा

कात्तिक ११, २०७५
साउदीमा पति अलपत्र, तलब माग्दा लास पठाउने धम्कीपछि पत्नी रुँदै वैदेशिक रोजगार विभागमा

काठमाडौं –वैदेशिक रोजगार विभागको दोस्रो तलाको बाहिरपट्टि ९ महिने छोरालाई दूध चुसाउँदै थिइन्, काभ्रेकी मैया गौतम ।

रसिलो आँखा र उदास अनुहार लिएर उनी साउदीमा अलपत्र परेका आफ्ना पतिलाई नेपाल झिकाइदिनू भन्दै आइतबार विभागमा आएकी थिइन् ।

गत फागुन २४ गते वैदेशिक रोजगारीका लागि साउदी गएका मैयाका पति मिनप्रसाद ढुंगाना डेढ महिनादेखि साउदीमा अलपत्र छन् । 

राम्रो कमाइ हुने भन्दै अक्सफोर्ड इन्टरनेसनल प्रा.लि नामक म्यानपावर कम्पनीमार्फत् साउदी गएका मिनप्रसादले विदेश गएको ५ महिना राम्रो काम र तलब पाए । उनलाई कम्पनीले गार्डेनमा फूड प्याकिङको काम लगाएको थियो  । तर पाँच महिनापछि उनलाई होटलमा काम लगायो ।

खाने बस्ने सुविधासहित फूड प्याकिङको काम भनेर म्यानपावरलाई एक लाख बुझाएका मिनप्रसादले होटलमा भनेजस्तो तलब र सुविधा पाएनन् । 

खाना बस्ने सुविधा त परको कुरा होटलमा काम गरेको डेढ महिनासम्म पनि उनले तलब पाएनन् । काम गरेको तलब माग्दा कम्पनीले कामबाटै निकालिदिएको मिनप्रसादकी पत्नी मैयाले लोकान्तरलाई बताइन् ।

‘शुरूमा त भनेको काम र तलब नै थियो, महिनामा ५०/६० हजार हुन्छ भनेको थियो । पछि काम गरेको डेढ महिनासम्म पनि तलब दिएनन्,’ मैयाले भनिन्, ‘तलब माग्दा कामबाटै निकालिदियो । तलब माग्न आइस् भने जिउँदो नेपाल फर्कन पाउँदैनस्, लास पठाउँछौं भन्छ रे !’ मैया भक्कानिँदै रोइन् ।

पतिले फोनमा जसरी पनि नेपाल झिकाऊ भनेपछि उनी ९ महिनाको छोरा काखी च्यापेर दुई महिनाअघि म्यानपावर पुगिन् ।

म्यानपावरले मैयालाई विदेशमा अलपत्र पतिलाई तलब र सुविधा दिलाउने र काम पनि लगाइदिने आश्वासन दिए । डेढ महिनासम्म कुर्दा समेत पतिले साउदीमा काम नपाएपछि मैया एक साता अघिदेखि विभाग धाइरहेकी छन् । 

‘८ दिनदेखि यहाँ आइरहेको छु, श्रीमानलाई झिकाइदिनू भन्दा म्यानपावरले अझै पनि काम लगाइदिन्छु मात्रै भन्छ,’ मैयाले गुनासो गरिन्,‘ यहाँका कर्मचारी पनि म्यानपावरकै कुरा सुन्छन् । मुद्दा हाल्न लाग्दा कर्मचारीकै अगाडि म्यानपावरका मान्छेले मुद्दा नहाल भनेर दबाब दिन्छ ।’

मैयाका पति मिनप्रसादसँगै अन्य १८ जना नेपाली पनि तलब नपाएर अलपत्र छन् । साउदीमा अलपत्र परेका उनीहरूलाई नेपाल झिकाउन आफन्तहरू वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्