३२ असार २०८३, बिहीबार

टुटल र पठाओ बहस : दुईपांग्रेले यात्रु बोक्ने कानून संसारमा कहाँ छ ?

माघ २, २०७५
टुटल र पठाओ बहस : दुईपांग्रेले यात्रु बोक्ने कानून संसारमा कहाँ छ ?

दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको  टुटल र पठाओ नेपालले गैरकानूनी काम गरेको भन्दै ट्राफिक प्रहरीको कारवाहीमा परेपछि सामाजिक संजालमा नयाँ बहसको सृजना भएको छ । नेपालको यातायात व्यवस्था ऐनले निजी सवारीसाधन भाडाको प्रयोजनमा लगाउन पाउने परिकल्पना गरेको छैन । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने व्यवस्था छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट उल्लेख गरिएको छ । कानूनतः दुईपाग्रे सवारी साधनमा भाडाका यात्रु बोक्ने पठाओ र टुटल नेपाल जस्ता मध्यस्थकर्ता कम्पनीहरू नेपालमा कानूनतः अवैध रहेको विषयमा शंका रहेन । 

सवारी दुर्घटनाको तथ्यांक 

गैर कानूनी काम गर्ने र कारवाहीमा परेपछि कानूनमा फेरवदल गर्नुपर्छ भन्दै संचार माध्यम र सामाजिक सञ्जालको दुरुपयोग गर्ने चलन नेपालमा नौलो होइन । हो, कानून आवश्यकताका आधारमा बन्नुपर्छ तर आवश्यकता छ भन्दैमा कानूनको धज्जी उडाउने अधिकार कानूनी राज्यमा हुनु हुँदैन । दुईपांग्रे सवारीले रकम उठाएर यात्रु बोक्ने काम कुनै सुरक्षा मापदण्ड अनुसार उपयुक्त छैन । 

आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म ५ वर्षको अवधिमा ५० हजारको हाराहारीमा सवारी दुर्घटना भएका छन् । जसमा १० हजार भन्दा बढीको ज्यान गएको छ भने १९ हजार भन्दा बढी गम्भीर घाइते भएका तथ्यांकहरुले देखाएका छन् । खतरनाक तथ्यांक के हो भने सवारी दुर्घटनामा ६० प्रतिशत भन्दा बढी दुईपांग्रे सवारी रहेका छन् । बरु दुर्घटनाको यो तथ्यांकको विश्लेषण गरेर दुईपांग्रे सवारी साधनलाई अझ बढी नियमन गर्नु सरकारको दायित्व हुन आउँछ ।

काठमाडौँ लगायत देशका प्रमुख शहरहरूमा सवारीसाधनका रूपमा दुई पांग्रे मोटरसाइकलको प्रयोग कति उपयुक्त छ भनें बहसमा ल्याउने बेला हो यो । तर व्यक्तिगत प्रयोजनका लागि अनुमति लिएका दुईपांग्रे सवारीहरूलाई यात्रु बोक्न दिन पाउनुपर्छ भन्ने बहस उठिरहेको छ । बहस कुनै वैधानिक तर्क, कानून, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नभइ गैरकानूनी काम गरिरहेका केही संस्थालाई फाइदापुग्ने गरी भइरहेका छन् । 

मोटरसाइकल सबभन्दा असुरक्षित सवारी साधन हो । उच्च जनघनत्व भएका संसारका ठूला ठूला शहरहरूमा मोटरसाइकलको प्रयोगलाई सिमित गरिँदै लागिएको छ । बरु सडकमा साइकल लेन बनाएर छोटो दुरीका लागि साइकलको प्रयोगलाई प्रोत्साहित गरिएको छ । 

विश्वका कतिपय विकसित सहरहरूमा लामो दूरीका लागि सार्वजनिक यातायातको विकल्प हुँदैन । कार नै चढ्नेहरूले पनि घरबाट कार ल्याएर बस स्टेसन या रेल्वे स्टेसनमा पार्क गर्छन्, अनि बस या रेल प्रयोग गरेर गन्तव्यमा पुग्छन र फर्किंदा स्टेसनबाट आफ्नो कार लिएर फर्किन्छन् । 

नेपालमा दुईपांग्रेले सवारी यात्रु ओसार्न पाउनुपर्ने बहस चलेको यो समयले हामी सुरक्षित भविष्यतर्फ जाँदै छौं कि चालक र यात्रुका परिवारलाई टुहुरा बनाउने दिशातर्फ जाँदैछौं ? भन्ने प्रश्नले टाउको उठाएको छ ।  

कुतर्कमा आधारित बहस 

भर्खर नयाँ र चिटिक्क बनेको काठमाडौँको चक्रपथको कुनै पनि ठाउँमा गएर एक घण्टा नियाल्ने हो भने कमसेकम एउटा मोटरसाइकल आफ्नै अगाडि दुर्घटनामा परेको देखिन्छ । हुन त टुटल र पठाओ नआएका भए पनि दुईपांग्रेको दुर्घटना अवश्यम्भावी छ भनेर तर्क गर्न सकिएला । 

टुटल र पठाओको अर्को तर्क के हो भने, काठमाडौंको सार्वजनिक यातायात सेवा भद्रगोल छ । ट्याक्सीमा ठगीको गुनासो छ । बस र माइक्रोमा अत्यधिक भिडभाड हुन्छ । खुट्टा टेक्ने ठाउँ पाउन मुश्किल पर्छ । चढेपछि त्यहाँ अनेकन सास्ती खेप्नुपर्छ । सार्वजनिक यातायात सेवामा माग र आपूर्तिको सिलसिला मिलेको छैन । यसलाई टुटलले थोरै भए पनि राहत दिएको छ ।

अरे बाबा ! यातायात भद्रगोल छ भने व्यवस्थित बनाउन पहल गर्नुपर्यो । ट्याक्सीले ठगेको छ भने ठगी नियन्त्रण गर्न दवाव दिनुपर्यो, प्रहरीलाई खबर गरेर ठगहरुलाई खोरमा पठाउन पहल गर्नुप¥यो, बस र माइक्रोमा खुट्टा टेक्ने ठाउँ छैन भने सार्वजनिक यातायातका अन्य विकल्पहरू खोज्नुपर्यो । संसारभर असुरक्षित र अव्यावहारिक ठानिएको दुईपांग्रेमा यात्रु बोक्न पाउनुपर्ने तर्क गर्नु त अब ? माथिका तर्कहरू त ‘शैक्षिक भ्रमणमा जान बाबुले पैसा दिएनन् भन्दैमा लागूऔषधको तस्करी गर्न सुरू गर्ने अनि पैसा कमाएर भ्रमणको खर्च जोहो गर्नुपर्छ’ जस्तो भएन र ? 

अन्तराष्ट्रिय मान्यता 

माथि नै उल्लेख गरियो, विकसित देशका उच्च जनघनत्व भएका कुनै पनि सहरहरूमा मोटरसाइकलको प्रयोग सिमित बनाइएको छ । दुईपांग्रे सवारी साधनमा यात्रु बोक्न पाउनुपर्छ भन्नेहरूको अर्को गजबको तर्क के छ भने, वैदेशिक रोजगारीबाट फर्केकाहरूले काम पाएका छन्, पेट्रोल खर्च उठाएका छन्, कसैले घरखर्च पनि उठाएका छन्, यसमा सरकाले किन आँखा गाड्नु पर्यो ? 

युएईबाट फर्केकाहरूले युएईको कुन शहरमा दुईपांग्रेले यात्रु बोकेको देखेका छन् त्यसको जवाफ दिनुपर्यो । मलेसियाबाट फर्केकाहरूले त्यहाँ सवारीका रूपमा मोटरसाइकलमा चढेर यात्रा गरे कि गरेनन् ? अमेरिकाको कुन राज्यमा मोटरसाइकलले यात्रुलाई चढाएर पैसा उठाउँछ ? यति धेरै कुतर्कका आधारमा ‘कफीमा तुफान’ सृजना गर्न खोजिएको छ, केही यातायात बिचौलियाले नेपाली जनताको बौद्धिकतामा कसरी आक्रमण गर्न सफल भएका छन् भन्ने मज्जाको उदाहरण देख्न पाइएको छ । 

‘पठाओ’ भन्ने कम्पनी बंगलादेशमा पनि बदनामी कमाइसकेको कम्पनी हो । गत सेप्टेम्बरमा बंगलादेशको उच्च अदालतले पठाओ कम्पनीलाई एउटा कानूनी पत्र पठाउँदै सेवा रोक्न आदेश दिएको थियो । पठाओ एप्लिकेसनले व्यक्तिगत डाटा चोरेको, कम्पनीले यात्रुबाट बढी पैसा उठाएको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै अदालतले पठाओलाई बन्द गर्ने आदेश दिएपछि बंगलादेशमा पनि यस्तै प्रकारका बहस चलिरहेका छन् । 
पठाओ निर्वाध रूपमा चल्नुपर्छ भन्नेका कुतर्क त्यहाँ पनि यस्तै यस्तै छन् । सार्वजनिक सवारी अस्तव्यस्त छ, ट्याक्सीले बढी पैसा लिन्छ, बाइकले यात्रु ओसारेर के गल्ती गर्यो ? जस्ता कुतर्कहरूमाथि त्यहाँ पनि बहस चलिरहेको छ ।

नेपालको सडकको दुरावस्था 

बिमस्टेक सम्मेलनको दौरानमा भीआइपीलाई सवारी स्कर्टिङ दिने क्रममा काठमाडौँको कालीमाटीमा एकजना मोटरसाइकल चालक प्रहरी दूर्घटनामा परे । भीआपीलाई स्कर्टिङ गर्नका लागि उनले लामो समय मोटरसाइकल चलाउने तालिम लिएका थिए तर उनी सडकका कारणले सम्हालिन सकेनन् । 

पछुवा स्कर्टिङ गरिरहेका उनको मोटरसाइकल दुर्घटनामा परेपनि भीआइपीको सवारीमा कुनै अवरोध त आएन तर उनी दुर्घटनामा गम्भीर घाइते वा जे पनि हुनसक्ने स्थितिमा थिए । कैयौं भीआइपीको स्कर्टिङमा मोटरसाइकल हाकिसकेका उनलाई त्यसपटक बाटोले साथ दिएन र दुर्घटनामा परे ।

काठमाडौँ त्यस्तो सहर हो, जहाँ दुर्घटनावस दिनदहाडै ढल भित्र मान्छे छिर्छन् । काठमाडौँका सडक, सडक नभएर धराप बन्दै गइरहेका छन् । सडक दुईपांग्रे सवारी मैत्री छैनन् । बाटोमा चल्ने टिप्पर, ट्रक, ठूला बसहरूको जगजगी यति धेरै छ कि दुईपांग्रे सवारीहरू सहज रुपमा यात्रा गर्न सक्ने अवस्थामा हुँदैनन् । सडकमा लेन नियम पालना भएको हुँदैन । आफै असुरक्षित रहेका दुईपांग्रे सवारी चालकहरूले यात्रुलाई सकुशल गन्तव्यमा पुर्याउने अवस्था कति छ बुझ्न सकिन्छ ।

युवा र प्रविधिको प्रश्न 

प्रविधिको प्रयोग कानूनसम्मत हुनुपर्छ भन्ने विषयमा कुनै द्विविधा रहेन । तर काठमाडौँमा यात्रुहरूको जस्तो चाप छ त्यसलाई कम गर्नका लागि मोटरसाइकलको प्रयोग गर्नुपर्छ भन्ने तर्क कुनै पनि प्राविधिक हिसाबले उपयुक्त तर्क होइन । कानूनलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्दैमा जस्तो सुकै प्रविधिलाई पनि कानूनी आवरणले ढाकछोप गर्ने र यात्रुहरूको जीवन जोखिममा राख्न खोज्ने कामलाई समर्थन गर्न सकिंदैन । 
नेपालको संविधानमा असहमति राख्दै भारतीय पक्षले गरेको नाकाबन्दीको बेलामा आम जनजीवन तहसनहस बनेको थियो । त्यतिबेला एकले अर्कालाई लिफ्ट दिएर सहयोग गर्ने प्रचलन थियो । धेरै सहयोगी मनहरूले अप्ठेरोमा परेकालाई सहयोग गरेर उदार दिल देखाएकै हुन् । यही कारणले नेपालको जनजीवनमा नाकाबन्दीको प्रभाव कम देखियो । 

मान्छेलाई लिफ्ट दिएर नाफा कमाउने देखिएपछि केही मान्छेहरूले ‘टेक्नोलोजी र इन्नोभेसन’सँग जोडे । वास्तवमा दुईपांग्रे सवारी साधनमा यात्रु बोकेर पैसा कमाउने काम कुनै नयाँ र प्राविधिक काम होइन । नाफा कमाउने र व्यवसायीक प्रयोजनका लागि गरिने प्रत्येक कामहरू व्यवसायीक मापदण्ड भित्र पर्नु पर्छ । जताबाट पैसा कमाउन सजिलो लाग्यो त्यही काम गर्ने र कानूनी जटिलता आए पछि सरकार र कानून कै बर्खिलाप जाने काम पटक्कै ठीक होइन । 

टुटल र पठाओले अप्ठेरोमा परेका यात्रुलाई लिफ्ट दिएर आफूहरुले सेवा गरेको तर्क गरिरहेका छन् । यदि उनीहरुले सेवा नै गर्ने हो भने आफू हिड्ने रुटमा रहेका यात्रुलाई निः शुल्क सेवा गरे भै हाल्यो नि ! पैसा कमाउने कानून नमान्ने भन्ने तर्क सही हुन सक्ला ?

salt training

कमेन्ट गर्नुहोस्