
काठमाडौं - नेपाली कांग्रेसले ३३ किलो सुन काण्डका ठूला माछालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ठूला माछालाई सरकारले नै ठूला-ठूला दुलामा लुकाएको आरोप लगाएका हुन् ।
'गृहमन्त्री स्वयंले ३३ किलो सुनकाण्डमा ठूला माछाहरू सरिक छन् भनेर भन्नुभएको थियो,' शर्माले भने, 'उहाँले भन्नुभएका ठूला माछाहरू कुन दुलोमा लुकेर बसेका छन् ? कि सरकारले नै लुकाएर राखेको छ ?'
माघ २१ गते हुने देशव्यापी विरोध प्रदर्शनमा कांग्रेसले भ्रष्टाचारका अन्य मुद्दाहरू पनि उठाउने प्रवक्ता शर्माले बताए ।
करीब ६ अर्ब भ्रष्टाचार भएको भनिएको वाइडबडी खरिद काण्डको पनि कुरा उठ्ने शर्माको भनाइ थियो ।
त्यसबाहेक बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने भनेर सरकारले प्रतिलिटर पेट्रोलमा उठाएको ५ रुपैयाँको विषय, निजगढ विमानस्थल बनाउनका लागि आवश्यकताभन्दा बढी रूख काट्ने सरकारी तयारीका विषयमा देशैभर विरोध प्रदर्शन गरिने शर्माले बताए ।
'सबैभन्दा मुख्य मुद्दा डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग हो,' शर्माले भने डाक्टर केसीसँग स्वयं केपी ओलीले गर्नुभएको सम्झौता विपरीत जसरी चिकित्सा शिक्षा विधेयक पारित भयो त्यसमा सरकार गैर-जिम्मेवार रूपमा प्रस्तुत भएको छ, यसको पनि हामी विरोध गर्छौं ।'
भेनेजुएला संकटका बारेमा सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा कांग्रेसको पनि सहमति रहेको शर्माले बताए ।
'अन्तर्राष्ट्रिय मुद्दामा यो पार्टी र त्यो पार्टी भन्ने हुँदैन,' शर्माले भने, 'भेनेजुएला संकटका बारेमा सरकारको धारणा नै हाम्रो पनि धारणा हो, भेनेजुएलामा हस्तक्षेपरहित शान्तिपूर्ण तरिकाले संकट समाधान हुनुपर्छ ।'