
विराटनगर -प्रदेश १ को तेस्रो अधिवेशन शुरू भएको छ । प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेस्रो अधिवेशनब शुरू भएको घोषणा गरेका छन् ।
सभामुख भण्डारीले तेस्रो अधिवेशन प्रदेश १ कै लागि परिणाममुखी हुनेमा विश्वास व्यक्त गरेसँगै शुरू भएको अधिवेशन पहिलो बैठकमा ५ जनाले आफ्नो धारणा राखेका छन् ।
तेस्रो अधिवेशनको पहिलो बैठक भएकोले पनि सदनमा दलगत रूपमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई बोल्न दिईएको थियो । सदनमा बोल्ने क्रममा सबै दलका नेताहरुले यसै अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन् ।
मधेशवादीको राजधानी चिन्ता
संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले विगत २ अधिवेशनमा गर्न नसकेको काम यस अधिवेशनले पुरा गर्नेमा आशा व्यक्त गरे । उनले सबै जनताको ध्यान प्रदेशको स्थायी राजधानी र नाममा केन्द्रित रहेकोले यस विषयलाई नटुङ्ग्याउँदासम्म कामै नदेखिने बताए । २० वर्षमा हुन नसकेको काम पछिल्ला डेढ वर्षमा भएको स्मरण गराउँदै प्रदेश सरकारले पनि अब गति लिनु पर्नेमा जोड दिए ।
संसदीय समितिको सभापति तथा प्रदेश सरकारको बिस्तारको कामलाई पनि प्रदेश सरकारले ध्यान दिनु पर्ने भन्दै प्रदेश सरकारले एक वर्षको बीचमा गरेको काम बुलेटिनको रुपमा ल्याएर जनतासम्म लैजान यादवले सुझाव दिए ।
प्रतिपक्षको पुरानै एजेण्डा
प्रदेश १ सभालाई सम्बोधन गर्दै प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले पुरानै एजेण्डालाई दोहोर्याएका छन् । उनले सरकारको गतिबिधि गन्तव्यहीन रहेको, डा. केसीको माग सम्बोधन नगरेको तथा निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याउन नसकेको आरोप लगाए । कोईरालाले प्रतिपक्षलाई अप्ठेरो परेको बेला मात्र सम्झिने अन्यथा वेवास्ता गरेको आरोप लगाए ।
उनले योजना आयोग गठनमा समेत कुनै छलफल नै नगरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको सदनमा सुनाए । कोइरालाले प्रदेश १ मा विषयका विज्ञ नभएको जस्तो गरी एउटा मानव अधिकारकर्मीलाई ल्याएर योजना आयोगको उपाध्यक्ष बनाईएकोमा असन्तुष्टी जनाए ।
साना दलको अनावश्यक रडाको
संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चकी एक मात्र सांसद विष्णुमायाँ तुम्बाहाम्फेले प्रदेश १ को नाम राख्ने बारेमा जातजाति भाषाभाषी तथा सबै जनतालाई समेट्न आग्रह गरिन् । उनले लिम्बुवान किराँत खम्बुवानको बिषयलाई वेवास्ता गरिए परिणाम राम्रो नआउने चेतावनी दिईन् । दुई तिहाईको दम्भले जनताको मागलाई वेवास्ता गरिए त्यसबाट आउने परिणामको भागी प्रदेश सरकार हुने दावी गरिन् ।
त्यस्तै राप्रपाकी सांसद ईन्दीरा राईले एक बर्षको जिम्मेवारी ग्रहण गर्दैगर्दा अहिलेसम्म भएका उपलब्धिलाई हेर्नुपर्ने बताईन् । उनले एक बर्षको अबधिमा कुनैपनि काम हुन नसकेको अझै देश अनिश्चितता तर्फ अगाडि बढेकोमा चिन्ता ब्यक्त गरिन् ।
अप्ठेरोका बीच काम गर्दैछौ :सत्तापक्ष
सरकारले गरेको काममा प्रतिपक्षले बिरोध जनाई रहँदा सत्तापक्ष संसदीय दलका उपनेता टंक आङ्बुहाङले सरकारको बचाउ गरेका छन् । मुख्यमन्त्री अनुपस्थित पहिलो संसद बैठकमा सत्तापक्षको तर्फबाट उपनेताको हैसियतमा आङ्बुहाङलाई बोल्न दिईएको थियो ।
उनले सरकारले कामै गरेन भन्दा पनि नौलो अभ्यासका कारण केही असजिलाका बिचमा प्रदेश सरकार रहेकोले काम नदेखिएको स्पष्ट पारे । अहिलेसम्म सत्तापक्ष र प्रतिपक्षबीचमा साझा सहमतिकै रुपमा काम भईरहेकोले आगामी दिनमा पनि सोही अनुसार नै सहमतिको आधारमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।
उनले यो अधिवेशनबाट धेरै बिधेयक पास गर्ने, प्रदेशको नाम र राजधानीको बिषय टुङ्गोमा पुर्याउने बिषय महत्वपुर्ण निर्णय हुनेमा विश्वास व्यक्त गरे ।