
बुटवल- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षदेखि प्रदेश तीव्र आर्थिक विकासको गतिमा अगाडि बढ्ने बताएका छन् । पहिलो वर्ष संघीयताको फाउण्डेशन निर्माणमा बितेको भन्दै उनले अर्को वर्षदेखि प्रदेश तीव्र आर्थिक विकासको गतिमा दौडिने दावी गरे ।
प्रदेश स्थापना दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेले भने, ‘हाम्रो पहिलो वर्ष व्यवस्थापनमा बित्यो । सम्पूर्ण कानूनहरू निर्माण गर्छौं । त्यपछिको प्रदेश तीव्र गतिमा विकासको रोलमोडलको रूपमा अगाडि बढ्छ ।’ उनले थपे, ‘प्रदेश विकास आयोजना कार्यान्वयनको चरण्मा अगाडि बढेको छ । हामी राष्ट्रिय मापदण्ड नजिक पुगेका छौं । अर्को वर्षदेखि हामी जनतालाई विकास गरेरै देखाउँछौं । नेपाल विकास भएन अब चिन्ता गर्नु पर्दैन ।’
पोखरेलले संघीयताले जनताको खर्चमा कटौती हुने बताए । संघीयता आएपछि प्रशासनिक खर्च बढ्छ । पहिला हुँदै आएको काममा १५ प्रतिशत कर्मचारीहरू थप गर्नुपर्ने हुन्छ । प्रशासननिक खर्च बढ्छ । तर, कामको लागि जनताका अब काठमाडौं, सदरमुकाम पुग्न पर्दैन । घर आँगनमा सरकार पुग्दा जनताको खर्च घटछ ।’
कानून, संरचना, जनशक्ति र साधन स्रोतको अभावको अनिश्चितताबाट पनि अहिले अवस्थासम्म प्रदेश आउन सक्नु उपलब्धिपूर्ण रहेको पोखरेलले दावी गरे । पोखरेलले सरकारले यो वर्षलाई कानून निर्माणको वर्षको रूपमा लिएको बताए ।
उनले भने, ‘आयोग गठन गरिएको छ । प्रदेशलाई आवश्यक पर्ने सबै कानूनका मस्यौदा प्रदेशसभा पठाएका छौं । साझा सूचीमा रहेका कानून निर्माणमा संघले विलम्ब गर्दा हामीले पनि बनाउन सकेका छैनौं । यही फागुनको अन्तिम सातादेखि कानून निर्माणले तीव्र गति लिन्छ ।’
वैशाख मसान्तभित्र प्रदेश आवधिक योजना बनाएर प्रदेश अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । पोखरेलले लुम्बिनी आम जनतासँग जोडिन नसकेको बताए । उनले लुम्बिनीको विकासको अधिकार संघले प्रदेशलाई दिनुपर्ने बताए ।
पोखरेलले आफूहरूले एक वर्षभित्र लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने गरी आउँदो बुद्ध पूर्णिमादेखि लुम्बिनी भ्रमण वर्षको रूपमा आउने गरी आफूहरू अगाडि बढने तयारीमा रहेको बताए । आफूहरू प्रदेश पाँचमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै त्यसको लागि लगानीकर्ताहरूसँग संवादको प्रक्रियामा रहेको मुख्मन्त्रीले जानकारी गराए ।