२८ असार २०८३, आइतबार

ओलीको बोलीले ल्याएको तरंग- नेकपाका दुई अध्यक्षलाई कसले लगाउँछ चुक्ली ?

फागुन ३, २०७५
ओलीको बोलीले ल्याएको तरंग- नेकपाका दुई अध्यक्षलाई कसले लगाउँछ चुक्ली ?

दुईतिहाइको शक्तिशाली सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै त्यस्तो आलोचना 'मुलुकको समृद्धि नचाहनेहरूको निराधार हल्ला' रहेको बताए । 

बिहीवार झन्डै १ घण्टा लामो सम्बोधनमा सरकारले १ वर्षमा गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरिरहँदा प्रधानमन्त्री ओलीले आफ्ना आलोचक, प्रतिपक्षी र यहाँसम्म कि आफ्नो पार्टीभित्र रहेको 'चुक्ली लगाउने प्रवृत्ति'को भण्डाफोर समेत गर्न भ्याए । 

आलोचनारहित सरकार संसारमा कहीँ भेटिन्नन् । अझ लोकतान्त्रिक देशमा सरकार विरुद्ध आलोचनाको अभियान नै छेड्ने चलन छ । राजनीतिक रूपमा बुद्धिजीवी र विश्लेषकहरूले गर्ने आलोचना तर्कसम्मत् हुन्छ, कुनै 'बायस्ड' पनि हुन सक्ला तर सरकारको बिजनेस आलोचनाको प्रतिआलोचना गर्नु होइन । यो पनि सामान्य नै हो ।

तर प्रधानमन्त्री ओलीले पार्टीभित्रै यताका कुरा उता र उताका कुरा यता लगाएर आफ्नो पोजिसन माथि पार्न खोज्ने 'चुक्ली प्रवृत्ति'माथि प्रहार गरेका छन् । जेठ ३ मा दुई अलग पार्टी एक भएर ठूलो पार्टी बनेको नेकपामा ९ महिनामै बिग्रह आउने गरी कसले भूमिका खेलेको होला ?

बोक्सी र जँड्याहाको प्रसंग 

राष्ट्रिय सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रममा बोल्दै ओलीले भने, ‘बाको कानमा गएर भन्ने, बा! आमा बोक्सी छन् । आमाको कानमा गएर भन्ने, आमा! बा जँड्याहा भइसके । दुवैले पत्याउँदैनन्, फेरि भन्ने, बा! पत्याउनुहुन्न के गर्ने, तर आमा भरे मुख सुँघ्न आउँछिन् । आमाको कानमा गएर भन्ने तपाईं पत्याउनुहुन्न गएर मुख सुँघ्नुस् न कस्तो गन्हाउँछ । नभन्दै आमाले गएर मुख सुँघ्छिन् । रक्सी त गन्हाएको हुँदैन, तर बाउलाई पक्का हुन्छ कि मुख सुँघ्न आई, बोक्सी त रहिछ । यस्ता प्रयासहरू थुप्रो भएका छन्, तर प्रयास नगरे पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लगाउँछन्, यहाँ त्यो कुनै चल्नेवाला छैन ।' 

प्रधानमन्त्री ओलीको यही भनाइ र शब्दहरू बिहीवार देशवासीका नाममा गरेको सम्बोधनमा दोहोरियो । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले आफ्ना भाषणहरूमा 'बोक्सी'को सन्दर्भ घुसाउनु उपयुक्त होला कि नाई, अर्को बहसको विषय बन्न सक्छ । असान्दर्भिक, कानूनतः बर्जित र अन्धविश्वासलाई प्रश्रय दिने खालका वक्तव्यहरू प्रधानमन्त्रीको मुखबाट निस्कनु त्यति राम्रो होइन । नेपाली भाषामा बलियो पकड भएका प्रधानमन्त्री ओलीले कुनै उखान, कथा र सन्दर्भलाई आफ्नो सम्बोधनमा जोड्नु राम्रै हो तर यसमा भाषण र वक्तव्य लेख्दिने प्रधानमन्त्रीका सहयोगीहरूले शब्दहरू छानेर लेख्दिनुपर्छ । तर प्रश्न उठ्छ, बालाई जँड्याहा भन्ने र आमालाई बोक्सी भन्ने 'सन्तान'को भूमिका नेकपाभित्र कसले खेलिरहेको छ ?

को हो त्यो सन्तान ?

नेकपाका नेता भीम रावलले यसबारेमा कुनै टिप्पणी गर्न नचाहेको बताए । 'प्रधानमन्त्रीज्यूले कुन सन्दर्भमा त्यसो भन्नुभएको हो, उहाँलाई नै सोध्नुहोस्,' रावलले लोकान्तरसँग भने, 'स्वयं म पनि यसबारेमा अध्ययन गरिरहेको छु र अहिले कहीँ कतै टिप्पणी गरेको छैन ।'

पार्टीभित्र यताउता कुरा लगाउने र आफूलाई सर्वश्रेष्ठ बनाउने प्रवृत्ति रहेको तर आफूले पनि यसको अध्ययन गरिरहेको नेता रावलको आशय छ । रावल तिनै नेता हुन्, जसले मंसिरमा २ सातासम्म चलेको स्थायी कमिटी बैठकमा निरन्तर सरकार र पार्टीको आलोचना गरिरहे । रावल मात्र नभएर अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघुजी पन्त लगायतका नेताहरूले पार्टी र सरकारको कार्यशैली बेठिक रहेको भन्दै निरन्तर प्रतिक्रिया दिए । 

नेकपाका अर्का स्थायी कमिटी सदस्य मणि थापा पार्टीभित्र  दुवैतिर चुक्ली लगाउने प्रवृत्ति रहेको स्विकार्छन् । पार्टी एकता नचाहने शक्तिहरू पूर्वमाओवादी र पूर्वएमाले दुवै खेमामा रहेको थापाको टिप्पणी छ । 'सम्भवतः प्रधानमन्त्रीज्यूले पार्टी एकता नचाहेका शक्तिहरूलाई इंगित गरेको हुनुपर्छ,' थापाले लोकान्तरसँग भने, 'केही घटनामा प्रधानमन्त्रीज्यूलाई त्यस्तो लागेको हुनसक्छ । दुवै पक्षलाई एकअर्कालाई नराम्रो देखाएर आफूलाई पावरमा ल्याउने प्रवृत्तिको विरुद्धमा ओलीजी बोल्नुभएको हो ।' 

विवादको पृष्ठभूमि 

अध्यक्षद्वयको कार्यशैलीप्रति सबैभन्दा बढी असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल देखिएका छन् । सात प्रदेश नेतृत्व चयनमा सल्लाह नगरेको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेकोमा नेता नेपाल र अन्य केही नेताहरू सकारात्मक छैनन् । अध्यक्षद्वय विदेश जाँदा पनि कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल सन्तुष्ट छैनन् । 

पार्टीभित्र सांगठानिक एकीकरणबाट शुरू भएको विवाद छुट्टै भेला बोलाउने अवस्था समेत सिर्जना भएको छ । गत असोजमा नेता नेपालले आफ्ना पक्षका नेताहरूलाई बोलाएर छुट्टै भेला आयोजना गरेका थिए । पार्टी एकीकरण र सरकार निर्माणताका अध्यक्ष ओलीको पक्षमा दह्रो अडान लिएका नेता नेपाल पछिल्लो समयमा सरकार र पार्टीको कार्यशैलीको तीव्र विरोधमा उत्रिएका छन् । 

ढिलो शुरू भएको कारण देखाएर गत मंसिरमा सचिवालय बैठक बहिष्कार गरेका नेता नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम आधारभूत रूपमा पार्टी सञ्चालनको कार्यशैलीप्रति रुष्ट छन् ।

त्यस्तै पार्टी एकताका लागि बाँकी रहेका कार्यभार पूरा गर्नका लागि गठन गरिएको कार्यदल पनि विवादमुक्त हुन सकेन । पुसभित्रै पार्टीको विधान, प्रदेश र स्थानीय कमिटी, जनवर्गीय संगठनको एकीकरण लगायत ११ वटा विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने कार्यादेश दिइएको कार्यदललाई स्वयं संयोजक रामबहादुर थापा 'बादल'ले वास्ता नगरेको आरोप कार्यदलकै सदस्यहरूले लगाउने गरेका छन् । 

पछिल्लो समयमा प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका प्रचण्डले पनि बेलाबेलामा आफ्ना असन्तुष्टिका स्वरहरू चर्को गरेर निकाल्ने गरेका छन् । शनिवार प्रचण्डले यस्तै कडा अभिव्यक्ति दिए,  ‘बिस्तारै-बिस्तारै अब माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाईं हुनसक्छ,’ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो यो अभिव्यक्ति गत ३ जेठमा नेकपा एमालेसँग पार्टी एकता गरेपछिको सबैभन्दा कडा अभिव्यक्ति हो । प्रचण्डको अभिव्यक्ति सरकार लक्षित थियो भन्नेमा शंका छैन । 

'बोक्सी र जँड्याहाको प्रसंग ल्याएर प्रधानमन्त्री ओलीजीले पुसमा दुईसाता चलेको स्थायी कमिटी बैठकमा सरकार र पार्टीविरुद्ध उठेका आवाजलाई काउन्टर गरेको पनि हुनसक्छ,' नेकपाका एक नेता भन्छन्, 'पार्टीभित्र यस्ता पात्र र प्रवृत्तिको कमी छैन ।' 

पार्टीभित्र देखिएका उल्लेखित विवादहरू पृष्ठभूमिका रूपमा रहेका बेला प्रधानमन्त्री ओलीले उप्काएको 'जँड्याहा र बोक्सी'को सन्दर्भले पार्टीभित्र थप विवाद निम्त्याउने विषयमा कुनै शंका छैन । विवादमाथि थप विवाद सिर्जना हुने परिस्थितिले पार्टीको कार्यक्षमतामा असर त पर्छ नै सरकार पनि कमजोर बन्दै जाने पक्का छ ।

salt training

कमेन्ट गर्नुहोस्