
जम्मु कश्मीरको पुलवामामा आतंकवादी आक्रमणपछि बढेको भारत पाकिस्तान तनावका बीच भारतीय सेनाले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको दाबी गर्योन । त्यसलगत्तै पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफुरले ट्वीट गरेर भारतीय लडाकू विमानले नियन्त्रण रेखा उल्लङ्घन गरेको बताए । भारतीय वायुसेनाका विमान मुजफ्फरावाद सेक्टरमा घुसेको र बम सहितका पेलोड खसाएको समाचारलाई दिनभर भारतीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रस्तुत गरिरहे ।
भारतीय वायुसेनाका विमानहरूले बम हानेर पाकिस्तानमा रहेको लडाकु समूह जैश-ए-मोहम्मदको शिविर ध्वस्त पारिदिएको दाबी भारतीय पक्षले गर्यो भने पाकिस्तानी सेनाले भारतीय दाबी आधारहीन रहेको बतायो ।
मंगलवार बिहान करीब ३ बजे भएको उक्त घटना लगत्तै पाकिस्तानमा सुरक्षा परिषद्को आकस्मिक बैठक बस्यो । पाकिस्तानी सञ्चारमाध्यमहरूले विदेशमन्त्री खबदुम शाह कुरेसीलाई उद्धृत गर्दै भने, 'बालाकोटनजिक रहेको कथित आतङ्कवादी शिविर नष्ट पारिएको र ठूलो मानवीय क्षति भएको भारतीय दाबीको हामी खण्डन गर्छौँ ।'
उल्लेखित तथ्यका आधारमा भारत-पाकिस्तानको सम्बन्ध युद्धको तहसम्म पुगेको विषयमा शंका रहेन । तर युद्धकै घोषणा भने भएको छैन । भारतले गरेको भनिएको सर्जिकल स्ट्राइक यसअघि पनि भएको भारतले दाबी गरेको थियो । तर भारतका कतिपय दाबीहरूलाई पाकिस्तानी सञ्चारमाध्यमले आधारहीन बताउन छाडेका छैन ।
मंगलबार दिनभर भारतीय सञ्चारमाध्यममा 'पाकिस्तान रुँदैछ' भन्ने आशयका समाचार प्रकाशित भएका छन् भने पाकिस्तानी सञ्चारमाध्यमहरूले 'भारतलाई मुह तोड जवाफ दियौं' भन्ने आशयका समाचारहरू प्रकाशित भएका छन् । पाकिस्तानी सेनाले सार्वजनिक गरेको तस्वीरहरूमा भने जंगलमा केही रुखहरू भाँचिएको देखाइएको छ ।
भारत-पाकिस्तान यदि घोषित रूपमै युद्धमा गए भने निश्चित रूपमा नेपालमा कूटनीतिक असर भने पर्न सक्छ । संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधि भएर काम गरिसकेका परराष्ट्रविद् डाक्टर जयराज आचार्य भन्छन्, 'भारत-पाकिस्तानको सम्भावित लडाईंले विशेषतः नेपाली गोर्खा सैनिकमाथि ठूलो असर पर्ने देखिन्छ । दोस्रो चाहिँ भारतमाथि भइरहेको आतंककारी आक्रमणलाई नेपालले पाकिस्तानको आँखाले हेर्ने कि भारतको आँखाले हेर्ने भन्नेमा कूटनीतिक अन्योलता सिर्जना हुन सक्छ ।'
भारतमा ४० हजारभन्दा बढी नेपालीहरू गोर्खा सैनिकका रूपमा कार्यरत छन् । सन् १९९९ को भारत-पाकिस्तान लडाईंमा पनि गोर्खा रेजिमेन्टको महत्त्वपूर्ण भूमिका थियो । कैयौं गोर्खा सैनिकहरू हताहत भएको समाचार सुन्नमा आएको थियो । त्यसको २० वर्षपछि भारत-पाकिस्तानबीचमा त्यही मात्रामा तनाव बढेको छ । यो घोषित युद्धमै परिणत होला भन्नेमा डाक्टर आचार्यले शंका व्यक्त गर्छन् ।
शनिवार पाकिस्तानी विदेशमन्त्री कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कुरा गर्दै सार्कका विषयमा अध्यक्ष मुलुकका हिसाबले नेपालले भूमिका खेल्न आग्रह गरेका थिए । केहीदिन अघि मात्र भारतको पुलवामामा भएको आतंककारी हमलाको सन्दर्भमा भारतले जवाफी कारवाही गर्ने धम्की दिएपछि पाकिस्तानले नेपालसँग गरेको उक्त आग्रहमा कहीँ कतै सामरिक स्वार्थ लुकेको देखिन्छ ।
स्थायी सरकार बनेपछि विश्वको कतिपय आर्थिक, सामाजिक, राजनीतिक र सामरिक मञ्चहरूमा नेपालले महत्त्वपूर्ण उपस्थिति जनाएको छ । केही हदसम्म विश्वको ध्यान आफूतर्फ आकर्षित गर्न सक्षम भएको मानिएको बेलामा छिमेकी देश भारत र पाकिस्तानबीच मडारिइरहेको युद्धको सम्भावित परिस्थितिलाई नेपालले कुन आँखाबाट हेर्छ त्यो महत्त्वपूर्ण रहेको भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्याय बताउँछन् ।
पाकिस्तानमा भारतले आक्रमण गरेपछि भारतीय सीमाक्षेत्रमा रहेका नेपाली भूभागहरूमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल–भारत खुला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई मध्यनजर गर्दै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीले जानकारी दिएको छ । यसको बारेमा रक्षा मन्त्रालय भने बेखबर जस्तै रहेको छ । यद्यपि मंगलवार रक्षा मन्त्रालयमा आयोजित पत्रकार भेलामा रक्षामन्त्री ईश्वर पोखरेलले यसबारेमा जानकारी नभएको बताएका थिए ।
भारत पाकिस्तान सम्बन्ध तनावपूर्ण रहेको बेलामा नेपालले कूटनीतिक परिपक्वता देखाउनुपर्ने आवश्यकता रहेको पूर्वराजदूत उपाध्यायको भनाइ छ । 'भारत-पाकिस्तानबीच बढेको तनावको बारेमा अन्तर्राष्ट्रिय टिप्पणी कस्तो हुन्छ त्यसको विश्लेषण गरेर नेपालले आफ्नो साइड सुरक्षित गर्नुपर्छ,' लोकान्तरसँग कुरा गर्दै उपाध्यायले भने, 'पाकिस्तानले पनि आफ्नो छिमेकी देश भारतको सुरक्षा स्वार्थसँग जोडिएका कुराहरूलाई ख्याल गर्नुपर्थ्यो, पुलवामामा जस्तो आक्रमण पटक-पटक भइरहनु राम्रो होइन ।' भारत-पाकिस्तानबीच बढिरहेको तनाव युद्धकै तहमा पुग्ला भन्नेमा उपाध्याय शंका व्यक्त गर्छन् ।
भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्र हुन्, उनीहरूबीच हुने युद्धले दुईदेशलाई मात्र असर गर्दैन, बरू विश्वलाई नै असर गर्ने परिस्थितिमा पुग्न सक्छ । सबभन्दा बढी क्षति भारत पाकिस्तानसँग जोडिएका छिमेकी देशहरूमा पर्छ । आफ्नै देशभित्र हुने सामाजिक, आर्थिक क्षति त भयावह नै हुनेछ ।
हजारौं माइल टाढाको भेनेजुएला संकटका बारेमा पार्टी र सरकारको तहमा आधिकारिक विज्ञप्ति नै प्रकाशित गरेका नेपाली नेताहरूले भारत-पाकिस्तानको मामिलामा एकदम संवेदनशील भएर सुझबुझपूर्ण प्रतिक्रिया दिनु आवश्यक छ । घोषित रूपमा युद्ध भएको अवस्थामा नेपालले आफूलाई पर्न सक्ने असर र त्यसको न्यूनीकरण गर्न आवश्यक कदम र पहल गर्नुपर्ने आवश्यकता छ ।
नजिकका छिमेकी भएकाले दुवै देशले नेपालको दृष्टिकोणलाई नजिकबाट नियालिरहेका छन् ।