
पोखरा – हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भएसँगै गृहजिल्ला कास्की शोकमा डुबेको छ ।
विद्यार्थी राजनीतिबाट छोटो समयमै लोकप्रिय छवि बनाएका नेता अधिकारीको निधनले समग्र कास्केलीले एउटा आशलाग्दो उदीयमान राजनीतिज्ञ गुमाएकोमा दुःखी छन् ।
ताप्लेजुङको फुङलिङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा उनीसहित ७ जनाको निधन भएको सार्वजनिक भएसँगै पोखराका उद्योगी, व्यवसायी, समाजसेवी लगायत सर्वसाधारण समेतले होनहार, लोकप्रिय र मिलनसार एक अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरिरहेका छन् ।
कास्कीका पूर्वराजनीतिज्ञ एवं सामाजिक विश्लेषक विश्व सिग्देलले कास्की क्षेत्रको आशलाग्दो नेताका रुपमा छवि बनाएका रवीन्द्रको अभाव खड्किरहने बताउँछन् । ‘रवीन्द्र क्षमतावान, सरल र योग्य नेताका रुपमा उदाएका थिए । रवीन्द्र उदीयमान नेताको रुपमा आएका थिए । उहाँको विशेषता दलगतभन्दा पनि सबैलाई सँगै लिएर हिँड्न सक्ने थियो । मैले धेरै संगत गरे । उहाँ भिजन भएको एक अध्ययनशील बौद्धिक नेता हुनुहुन्थ्यो,’ उनले भने ।
पोखराबाट राजनीतिक तहमा उच्च नेतृत्वमा पुग्ने राजनीतिज्ञको अभाव खड्किरहेको अवस्थामा छोटो समयमै उच्च तहमा पुगेका रवीन्द्रको निधनले ठूलो क्षति पुगेको उनले बताए । ‘अब उहाँको आवश्यकता लामो समय खड्किने छ,’ उनले भने, ‘रवीन्द्रमा सबै राजनैतिक दल र विचारलाई सम्मान गर्ने स्वभाव थियो । सबै विचार र मूल्य भएकोसँग उहाँले संगत गर्नुहुन्थ्यो ।’
पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले अधिकारीको निधनले देशलाई नै अपुरणीय क्षति भएको बताए । ‘पर्यटन क्षेत्रमा केही गरेरै छाड्छु भन्ने अदम्य साहस भएको नेता गुमाउँदा पीडा व्यक्त गर्न आफूसँग कुनै शब्द छैन,’ उनले भने, ‘कास्केली मात्रै नभई सम्पूर्ण नेपाली जनताको आशा र भरोसाको केन्द्रकै अवसान भयो ।’
नेपालको समग्र पर्यटन र उड्ययन क्षेत्रमा परिवर्तन गर्ने संकल्पसहित आहोरात्र खटिएका मन्त्री गुमाउँदा आफू र आफ्नो संस्थाले असल अभिभावक गुमाएको महशुस भएको उनले बताए ।
वर्षौंदेखि पोखरेलीको सपना बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मन्त्री अधिकारीकै लगावका कारण गति लिएको एडमार्क टुर्स एण्ड ट्राभल्सका सञ्चालक रुद्र केसी बताउँछन् । ‘लामो समयदेखि गति लिन नसकेको विमानस्थल मन्त्री अधिकारीकै अगुवाइका कारण निर्माण प्रक्रिया तीब्र बनेको छ,’ उनले भने, ‘यदि अधिकारी त्यो नेतृत्वमा नपुगेको भए आज यो अवस्थामा पुग्ने सम्भावना थिएन ।’
पोखरा र नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न मन्त्री अधिकारीले खेलेको भूमिका अतुलनीय रहेको केसीले बताए । ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न मन्त्री अधिकारीको भूमिका अतुलनीय छ,’ उनले भने, ‘नेपालका धेरै उडानविहीन बनेका विमानस्थल सञ्चालनमा ल्याएर विकट बस्तीका सर्वसाधारणलाई सेवा दिन दत्तचित्त भएर लागेका थिए ।’