
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ । किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो ।
रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमैं कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ ।
मूलतः कक्षा ६ देखि माथिका छात्राहरूलाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो । नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूको संख्या तीन हजार ६ सय ५० छ । सरदरमा प्रतिछात्रा १३६ रुपैयाँका दरले सेनेटरी प्याडका लागि विद्यालयलाई रकम दिइएको हो ।
‘विद्यालयमा रजस्वला भएपछि बीचमै पढाइ छाडेर घर जानुपर्ने बाध्यताको अन्त्यका लागि यस्तो व्यवस्था मिलाइएको हो,’ शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले भने । आर्थिक अभावमा कतिपय छात्राहरूले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले चेतना अभिवृद्धिका लागि पनि सेनेटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयहरूले प्याडको व्यवस्था मिलाएका छन् । यसका लागि विद्यालयहरूले एक जना महिला शिक्षकलाई ‘फोकल पर्सन’ तोकेका छन् ।
सेनेटरी प्याडको उपलब्धताले किशोरीहरू ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्र बहादुर क्षेत्रीले बताए । ‘नगरपालिकाले बजेट नदिँदासम्म स्कुलमा सेनेटरी प्याडको व्यवस्था थिएन । नगरपालिकाले बजेट दिएपछि चालु शैक्षिक सत्रबाट हामीहरूले छात्राहरूलाई आवश्यकताका आधारमा निःशुल्क सेनेटरी प्याड दिन थालेका छौं । यसबाट उनीहरूमा सकारात्मक प्रभाव परेको छ,’ उनले भने ।
यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरूलाई नगरपालिकाले संघीय सरकारले उपलब्ध गराउने रकममा पाँच सय रुपैयाँ थपेर दिने गरेको छ । नगरपालिकामा दुई वटा बर्थिङ सेन्टर छन् । नियमित स्वास्थ्य परीक्षण गराई बर्थिङ सेन्टरमा सुत्केरी महिलाले प्रोत्साहन भत्ता स्वरूप दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्छन् ।