
काठमाडौं – अमेरिकामा बसेर मनोविज्ञानमा स्नातक गरिरहेकी थिइन् सुहाना थापा । उनका बुवा सुनिलकुमार चलचित्र निर्माता अनि आमा झरना चर्चित नायिका ।
सुनिलकुमारको निर्माण अनि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ लोकप्रिय भयो ।
चलचित्रको सफलतापछि सुहानाका बाबुआमाको तयारी थियो – ‘ए मेरो हजुर ३’ निर्माण गर्ने । चलचित्र निर्माणका लागि केही महिनादेखि योजना बनिरहेको थियो ।
योजनाबारे अमेरिकामा पढ्दै गरेकी छोरी सुहानालाई पनि जानकारी थियो । तर एकदिन सुहानाले चलचित्रबारे थप कुरा थाहा पाइन् ।
‘एकदिन बिहान नेपालबाट ममीले फोन गर्नुभयो र फिल्मका लागि अनमोल केसी नायकमा छानिएको बताउनुभयो,’ सुहाना सम्झिन्छिन्, ‘अनि मलाई नायिका भएर काम गर्नुपर्छ भन्नुभयो ।’ आमाछोरीबीच फोनमा त्यति मात्र कुरा भयो ।
झरनाले फोन राख्नेबित्तिकै सुहानाले सँगै रहेका साथीलाई खबर सुनाइन् । साथीले उनलाई बधाई दिए । त्यसपछि सुहाना सोचमग्न बनिन् ।
चलचित्रमा कसरी अभिनय गर्ने ? अनमोलजस्तो चलेको कलाकारसँग जोडी कस्तो देखिने हो ? आदि– इत्यादि उनले सोच्न थालिन् । त्यसपश्चात् उनले बुवालाई प्रश्न समेत गरिन्, ‘अनमोलसँग मेरो हाइट पुग्छ त ?’
सुहाना सम्झन्छिन्, ‘तर जब वर्कशपमा अशान्त शर्मा सरले अभिनय राम्रो भयो भने अरुले असर गर्दैन भन्नुभयो, त्यसपछि म कन्भिन्स भए ।’ त्यसपश्चात् सुहानाले ‘ए मेरो हजुर ३’ बाट नायिकाका रुपमा चलचित्र अभिनयमा प्रवेश गर्ने निधो गरिन् ।
यसरी बनिन् अनमोलको ‘फ्यान’ !
‘ए मेरो हजुर ३’ एउटा ‘स्टार’ र ‘फ्यान’ बीचको कथा हो । जहाँ अभिनेता अनमोल स्टारको भूमिकामा देखिएका छन् भने सुहाना जेपनि गर्न तयार हुने ‘फ्यान’को भूमिकामा ।
वास्तविक जीवनमा कसैको पनि फ्यान नभएको बताउने सुहाना चलचित्रका लागि अनमोलको फ्यान बन्नुपर्यो । चलचित्रमा आफूले निर्वाह गरेको फ्यानको भूमिकालाई न्याय गर्न के–के गरिन् त सुहानाले ?
भन्छिन्, ‘सुत्नुअघि वा बिहान उठेपछि हरेक पल अनमोलको तस्वीर हेर्न थालें । अनमोलको फेसबूक, इन्स्टाग्राम चेक गर्न थाले । अधिकांश समय अनमोलका फिल्म हेर्न थालें । दिमागमा अनमोल मात्र सोच्न थालें ।’
चलचित्रमा आउनुअघि कहिल्यै अनमोललाई नभेटेकी सुहानाले छायांकनमा अनमोलको सक्दो साथ र सहयोग पाइन् । सबैको सहयोगले काम गर्न गाह्रो नभएको सुहानाले बताइन् ।
आकर्षक प्रवेश
२ साताअघि झरनाले भनेकी थिइन्, ‘म एउटी आमा भएर होइन, एउटा निर्देशक भएर कन्फिडेन्टका साथ भन्छु – सुहानाको अभिनयलाई दर्शकले रुचाउनुहुनेछ ।’
सार्वजनिक भएको चलचित्रको अंश र गीतसंगीतबाट पाएको प्रतिक्रियाले नवप्रवेशी अभिनेत्री सुहाना पनि आशावादी थिइन् । झरना र सुहानाको आशाजस्तै चलचित्र हेरेका अधिकांश दर्शकले सुहानाको अभिनयको खुलेरै प्रसंशा गरिरहेका छन् । चलचित्र हेरिरहँदा सुहानाको अभिनयलाई धेरैले नवप्रवेशीजस्तो नलाग्ने बताएका छन् ।
पहिले पढाइ, अनि चलचित्र !
आफ्नो बाल्यकालमा आमा झरनाको व्यस्तताले दिक्क हुन्थिन् सुहाना । सुनाउँछिन्, ‘म होस्टेलमा बसेर पढ्दा भेट्न पनि नआउने । जहिले व्यस्त, जहिले व्यस्त । त्यो देखेर रिस उठ्थ्यो ।’
आमाबुवा २ दशक बढी समयदेखि चलचित्र क्षेत्रमा रहेपनि सुहानालाई चलचित्रप्रति त्यति साह्रो रुचि थिएन । तर गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ को सफलता देखेर भने कताकता उनमा रुचि जागेको रहेछ ।
चलचित्र छायांकन स्थलमा पुगेपछि त उनलाई अभिनयको नशा नै लाग्यो रे ! अहिले चलचित्रप्रति दर्शकले देखाएको मायालाई लिएर सुहानालाई यही क्षेत्रमा लाग्न हौसला मिलेको छ ।
तर अमेरिकामा मनोविज्ञानको अध्ययन गरिरहँदा चलचित्रमा आएकी सुहानालाई पहिले पढाइ पूरा गर्नुछ । ‘अब अमेरिका फर्केर पहिले पढाइ सक्छु,’ सुहाना सुनाउँछिन्, ‘त्यसपछि नेपाल आएर फिल्म क्षेत्रमै लाग्छु ।’ आमा झरना र बुवा सुनिलकुमार पनि छोरी चलचित्र क्षेत्रमै लागेको देख्न चाहन्छन् ।