११ असार २०८३, बिहीबार

सिंहदरबारमा ‘समाजवादी’ खाजाघर : शाकाहारी मःम रु. १७, कालोचिया रु. ३ !

जेठ ९, २०७६
सिंहदरबारमा ‘समाजवादी’ खाजाघर : शाकाहारी मःम रु. १७, कालोचिया रु. ३ !

काठमाडौं – संविधानले नै समाजवादउन्मुख नीति लिएको र केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले समेत समाजवादलाई नारा र भाषणमा सम्झिने गरेको छ ।

सरकार बनेको लामो समयसम्म पनि सरकारी नीति समाजवादउन्मुख नबनेको र जनताले अनुभू ितगर्न नपाएको भनेर आलोचना भइरहेका बेला सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा भने समाजवादी खाजाघर भेटिएको छ ।

समाजवादलाई सहज रुपमा बुझ्दा सर्वसाधारणले सस्तो र सुलभ सेवा पाउने बुझिन्छ । सिंहदरबारको एउटा खाजाघरमा त्यस्तै छ ।

शाकाहारी मःम १७ रुपैयाँमा १ प्लेट मिल्छ भनेर सहजै पत्याउन सकिँदैन तर सिंहदरबार प्रवेश गर्न सक्ने पहुँचवालाले १७ रुपैयाँमा शाकाहारी मःम खान पाउँछन् । १ प्लेटमा १० वटा मःमका टुक्रा राख्ने गरिन्छ ।

सिंहदरबारभित्र कञ्चन चमेना गृहले अत्यन्तै सस्तो मूल्यमा मःमः उपलव्ध गराउँदै आएको छ । मूल्यसूचीमा उल्लेख गरिएअनुसार खाजा घरमा अन्य धेरै खाजा पनि निकै सस्तो मूल्यमा पाइन्छन् ।

साझेदारीमा कुमार सापकोटा र उत्तमकुमार भट्टले खाजाघर सञ्चालन गर्छन् । नेपाल पुनर्निर्माण प्राधिकरणमार्फत् २०७४ मंसिरमा ठेक्का प्रक्रियाबाट खाजाघर सञ्चालनको अनुमति प्राप्त गरेको सापकोटाले बताए ।

ठेक्का प्रक्रियामार्फत सम्झौता अनुसारको मूल्य र गुणस्तर कायम भएकाले चमेना गृह सञ्चालकले तोकिएको मूल्यमा नै ग्राहकलाई खाजा उपलब्ध गराउनुपर्ने हुन्छ । खाजाघरले कालोचिया ३ रुपैयाँ, दूधचिया ११ रुपैयाँ र सादा खाना ७९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।

हेर्नूस् यस्तो छ मूल्यसूची :-

‘मःम बनाउँदा कम्तीमा ५५–५६ रुपैयाँसम्म खर्च हुन्छ तर हामीले सम्झौता अनुसार १७ रुपैयाँमा बेच्छौं । करीब १० आईटममा हामीले नाफा आर्जन गर्न सकेका छैनौं, अरु आईटम भने साधारण बजार दररेट अनुसार भएकोले हामीले पूरै घाटा व्यहोर्नुपरेको छैन । प्रत्येक ६ महिनामा नेपाल राष्ट्र बैंकले अद्यावधिक गर्ने मूल्यसूची अनुसार मूल्यमा थपघट गर्ने सम्झौता भएको तर त्यो अनुसार मूल्यमा अद्यावधिक गर्न नसकिएको सञ्चालक कुमार सापकोटाले जानकारी दिए ।

चमेना गृहले मासिक घरभाडा बुझाउनुपर्दैन, खर्च भएको बिजुलीको शूल्क मात्र बुझाए हुन्छ । सञ्चालक सापकोटाले भने, ‘मासिक भाडा बुझाउनु नपर्ने र व्यापार ठूलो परिमाणमा हुने हुँदा हामीले प्रतिस्पर्धामा सस्तो दररेट राखेका हौं तर बजारमा सामानको मूल्यमा ठूलो परिवर्तन भएकाले अहिले गाह्रो भएको छ । हामीले मूल्य समायोजनको निमित्त सम्बन्धित कार्यालयमा अनुरोध पनि गरेका छौं ।’

सिंहदरबारको सस्तो समाजवादी खाजाघरमा सबै सर्वसाधारणले खान भने पाउँदैनन् । खाजाघरसम्म पुग्न सिंहदरबारभित्र प्रवेश गर्नुपर्छ तर सिंहदरबारभित्र सबैले सहजै प्रवेश पाउँदैनन् । सिंहदरबार जान प्रवेश पास चाहिन्छ, जुन सबैको पहुँचमा हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्