११ असार २०८३, बिहीबार

चित्रमा समाजका बलात्कारी ‘भाले’ !

जेठ २५, २०७६
चित्रमा समाजका बलात्कारी ‘भाले’ !

काठमाडौं – कोठाभित्र एकान्त परिदृश्य । तस्वीरमा भाले कुखुरा र १ जना महिला सँगसँगै १ जना पुरुष पनि ।

मान्छेको आकारभन्दा अजंगको छ कुखुराको भाले । शरीरमा थोरै प्वाँख र रातो शीर ।

भालेले महिलालाई जबरजस्ती अर्धनग्न बनाउँदै आफ्नो नियन्त्रणमा लिएर बलात्कार गर्दैछ । बलात्कृत नारीले हारगुहारको चित्कार गरिरहेकी छन् ।

उनको चित्कार सुन्ने बलात्कारी भाले र दर्शक पुरुष मात्र छन् । घटनालाई पुरुषले नतमस्तक भएर हेरिरहेका छन् । उसको पछाडि रक्सीजस्तो देखिने बोतल ठडिएको छ ।

बलात्कृत नारीको चित्कार आवाज केवल सन्नाटामा हराएको छ । उनी निरन्तर बलात्कृत भइरहेकी छन् ।

यथार्थमा कहिल्यै पनि कुखुराको भालेले महिलाको बलात्कार गरेको घटना सुनिँदैन तर म्याग्दीका चित्रकार पकबहादुर थापाले आफ्नो कल्पनामा यस्तो तस्विर तयार पारेर चित्रमा उतारे ।

नेपाल कला परिषद् बबरमहलमा भएको ‘फाइन आर्ट’ प्रदर्शनी कार्यक्रममा कलाकार पकबहादुरको कला भित्तामा टाँगिएको छ । भावुक मान्छेका आँखा केहीबेर टक्क अडिने तस्विरले नेपाली समाजमा घटिरहेका घटनालाई व्यंग्य गरेको छ ।

‘मैले तस्वीरमा भालेलाई समाजमा गलत काम गर्ने प्रतिकको रुपमा चित्रित गरेको हुँ । हाम्रो समाजमा यस्ता भालेहरू छन्, जो पात्रहरू नेपथ्यमा बसेर समाजमा गलत काम गरिरहेका छन् । यो तस्वीरमा मैले मान्छेको तस्वीरको प्रयोग नगरेर कुखुराको भालेको प्रयोग गरेको छु,’ उनले भने, ‘भालेको भूमिकामा मान्छेको तस्वीर पनि राख्न सकिन्थ्यो तर त्यसो गर्दा अश्लिल देखिन सक्ने हुँदा कुखुराको भालेलाई मैले गलत भूमिकामा प्रस्तुत गरेको हुँ ।’

समाजमा रहेका भालेहरूले महिलामाथि कुदृष्टि राख्दै बलात्कार गर्ने गरेको प्रतिबिम्ब तस्वीरमा रहेको उनले बताए । ‘त्यस्ता भालेहरू कहीँ न कहीँ सुरक्षित भइराखेका छन् । घटना घटाउने पात्र र घटनाको दृश्य देख्ने पात्र दुवै पक्षलाई म पात्रको रुपमा नेपथ्यमा मैले १ जना पुरुष प्रतिकलाई तस्वीरमा प्रस्तुत गरेको छु ।’

म्याग्दीका चित्रकार पकबहादुर थापाले नेपथ्य शीर्षकमा हालसम्म २० वटाभन्दा बढी चित्र बनाइसकेका छन् । नेपथ्यमा रहेर समाजमा घटना घटाउने प्रवृत्तिलाई चित्रकार पकबहादुरले शृंखलाको रुपमा विकास गरेको र सोही अन्तर्गत नै तस्वीर बनाएको उनले बताए । तस्वीरको मूल्य १ लाख ५ हजार रुपैयाँ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्