
सुर्खेत –सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकास्थित जीवनज्योति माध्यमिक विद्यालयमा केही दिनदेखि अनौठो समस्या देखा परेको छ ।
विद्यार्थीहरू काम्दै बेहोस् हुन थालेपछि शिक्षक, विद्यार्थी र अभिभावक त्रस्त छन् ।
सिम्ता– २ काफलकोटस्थित उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरूमा एक्कासि रुने, कराउने, काम्ने, बेहोस हुने जस्ता समस्या देखिएको शिक्षकहरूले बताएका छन् ।
स्थानीय स्वास्थकर्मीहरूको टोलीले उपचार गरेपनि समस्या समाधान हुन नसकेको वडाध्यक्ष हरिबहादुर सिंह ठकुरीले जानकारी दिए ।
‘विद्यार्थीहरूमा देखिएको यस्तो समस्या समाधान गर्न स्वास्थ्यकर्मीहरूलाई बोलाएका थियौं,’ अध्यक्ष ठकुरीले भने, ‘तर पनि समस्या के हो उनीहरूले पत्ता लगाउन सकेनन् । अहिले पनि विद्यार्थीहरूले उक्त समस्या झेल्न बाध्य छन् ।’
प्रादेशिक राजधानीसमेत रहेको सुर्खेतमै यस्तो समस्या देखिएको हो । ‘स्थानीय धामी झाँर्कीहरूलाई समेत ल्याएर हामीले देखाइसक्यौं,’ उनले भने, ‘तर पनि समस्या ज्यूँ का त्यूँ छ ।’
यो समस्या छात्र र छात्रा दुवैमा देखिएको छ । ८ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीहरूमा यस्तो समस्या बढी देखिएको अध्यक्ष सिंहले बताए ।
‘उनीहरू बेहोस् भएको २ घण्टासम्म अचेत भइरहन्छन्,’ वडाध्यक्ष ठकुरीले भने ।
विद्यालयबाट १/२ किलोमिटर टाढा जाँदा समस्या आफैं हट्ने र विद्यालय आउनेबित्तिकै शुरू हुने गरेको प्रधानाध्यापक हरिनारायण यादवले जानकारी दिए ।