
काठमाडौं – जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रमका प्रणेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका जबजपक्षीय नेता उपस्थित देखिएनन् ।
कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेपाली कांग्रेसबाट कृष्ण सिटौला र सूर्य चिह्न लिएर चुनाव जितेका हृदयेश त्रिपाठी उपस्थित थिए भने मदन भण्डारी फाउन्डेसनका तर्फबाट भण्डारी पुत्री उषाकिरण भण्डारी र सांसद अमृता थापा मात्र मञ्चमा देखिए ।
नेकपाभित्र पार्टीको कार्यनीति के हुने भन्ने विषयमा पछिल्लो समयमा तीव्र विवाद देखिएको छ । गत वर्ष ३ जेठमै पार्टी एकताको समयमा तयार पारिएको राजनीतिक प्रतिवेदन सोही विवादका कारण प्रकाशन हुन सकेको छैन भने रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल लगायत पार्टीका केही नेताले राजनीतिक प्रतिवेदनमा जबजलाई घुसाउन प्रयासरत देखिएका छन् ।
पार्टी एकताका लागि गरिएको सहमतिमा ‘जनताको जनवाद’लाई एकीकृत पार्टीको कार्यक्रम मान्ने कुरा उल्लेख गरिएको भएपनि पछिल्लो समयमा पूर्व एमाले पक्षका केही नेताले जबजलाई पार्टीको कार्यक्रम बनाउनुपर्ने भन्दै लबिङ गरेका हुन् ।
प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनमा जबज उल्लेख गर्न दबाब दिने गरेको आरोप पूर्व माओवादी पक्षीय नेताले लगाउने गरेका छन् । महाधिवेशनमा खुला छलफलमा लैजाने सहमतिसहित स्थगन गरिएको कार्यक्रम जबजलाई राजनीतिक प्रतिवेदनमा घुसाउन खोजेको भन्दै पूर्व माओवादी पक्षका नेता सशंकित देखिएका छन् ।
‘पार्टी एकताका बेलामा भएको सहमति विपरीत राजनीतिक प्रतिवेदनमा जबजलाई उल्लेख गर्नुपर्ने मान्यता पार्टीका केही शीर्ष कमरेडहरूले राख्नुभएको छ,’ पूर्व माओवादी पक्षीय एक नेताले भने, ‘यो पार्टी एकताको स्पिरिट अनुसार छैन । पार्टी जनताको जनवादभन्दा पनि अझै अघि जानुपर्ने बेलामा पुरानो कार्यक्रमलाई नै निरन्तरता दिनुपर्ने बहस सही होइन ।’
पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम लगायत केही नेता भने जबजको बहसलाई ब्यूँताएर थप विवाद सिर्जना गर्न नहुने पक्षमा देखिएका छन् । केही समयअघि खनालले जबजलाई मुल्तबीमा राखिएको अभिव्यक्ति दिएका थिए ।