२२ असार २०८३, सोमबार

अभिभावकमा शैक्षिक जागरण बढ्दै

अभिभावकमा शैक्षिक जागरण बढ्दै
प्रतिकात्मक तस्वीर

जाजरकोट – ठूलीभेरी नगरपालिका–२ कुम्ली डोल्पाका दिलमाया विक सधैं घरको काममा व्यस्त रहने गरेकामा आजभोलि केही समय निकालेर विद्यालयमा आइ नियमित छलफल गरिरहेकी छन् ।

उनी आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित शिक्षकसँग छलफल, अन्तर्क्रिया गरिरहन्छिन् । घर, आँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका अधिकांश महिला दिलमायाको क्रियाशीलता देखेर आज दंग मात्र छैनन्, सल्लाह, सुझावसमेत माग्न थालेका छन् ।

विद्यालयमा आफ्ना बालबालिकालाई पढाउने मात्र होइन, पढे, नपढेको प्रभावकारी अनुगमनसमेत दिलमाया गर्दै आएकी छन् ।

उनले घरबाट २० मिटर ढाटा रहेको मन्मा आधारभूत विद्यालय कुम्लीमा दैनिक आएर छलफल समेत गरिरहेका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । उनी आएर छलफल गरेको देखेका अन्य अभिभावकसमेत आजभोलि विद्यालयमा आएर बालबालिकाको विषयमा बुझ्न थालेका छन् । अभिभावकमा चेतनाको विकाससमेत भएको उनीहरूको भनाइ छ । अनावश्यकरूपमा घुमेर खर्चिने समय अहिले बालबालिका पढाएर बित्ने गरेको अर्का अभिभावक दिनेश रोकायले बताए ।

विद्यालयमा आएर छलफल गर्दा शिक्षक र अभिभावकबीच सम्बन्धसमेत राम्रो हुने गरेको रोकायको भनाइ छ । विद्यालयमा नियमित अभिभावक आएर ‘केयर’ गर्दा शिक्षकसमेत विद्यालयमा नियमित र समयमा पुग्ने गरेका छन् । डोल्पाको दीगो तथा न्यायोचित विकास प्रतिष्ठान (सेडा नेपाल)ले साविकका ३२ वटा गाविसमा यूएसएआइडी, आरटीआईको आर्थिक सहयोगमा कार्यक्रम गर्दै आएको छ ।

प्रारम्भिक चरणका बालबालिकाको शिक्षामा सुधार ल्याई उनीहरूको सर्वाङ्गिण विकास गर्ने लक्ष्यका साथ डोल्लाका कक्षा १ देखि ३ सम्मका करीब १०९ विद्यालयमा १९ महिने कार्यक्रम शुरू भई काम भइरहेको कार्यक्रम संयोजक योगेन्द्र बुढाले बताए । कार्यक्रम लागू भएदेखि हालसम्म जिल्लाका ८ स्थानीय तहका विद्यालयमा अन्तर्क्रिया, अभिभावक भेला र संयुक्त छलफल गरी खेलबाट पढाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने ज्ञानसमेत दिइएको छ । 

विद्यालयमा मुखसम्म नदेखाउने र बालबालिकासमेत विद्यालयमा नपढाउने अभिभावक अहिले विद्यालयमा छोराछोरी ल्याएर विद्यालयमा छोड्ने र बेलुका लिन आउनेसम्मको वातावरण तयार भएको बुढाको भनाइ छ । कार्यक्रमको प्रभावकारिता निकै बढेको अर्का अनुगमनकर्ता शेरबहादुर खत्रीले बताए । अहिले डोल्पाका सबै घरमा विद्यार्थी पढाउनका लागि पढाइ कुना निर्माण गरिएको छ ।

खाना पकाउने कोठामा सीमित आकारको स्थानमा पढाइ कुना बनाएर दैनिक खाना पकाउने समयमा अभिभावकले छोराछोरी पढाउने गरेको अर्का कुम्लीका स्थानीय डम्बर रोकायले बताए । कार्यक्रममा ठाउँठाउँमा पढाइको लागि मेला आयोजनासमेत हुने गरेको छ ।

अभिभावक विद्यार्थी र जनप्रतिनिधिसँगै राखेर पढाइ मेला हुँदै आएको छ । पढाइ मेला भएपछि फोक्सुण्डो आधारभूत विद्यालय खदाङमा आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न सजिलो भएको अभिभावक तिले बुढाले बताए । विद्यालय परिसरमा शैक्षिक सामग्रीको प्रयोग र प्रभावका विषयमा समेत दिनहुँ छलफल हुँदै आएको छ । 

कक्षा १, २ र ३ का बालबालिकाका लागि छुट्टाछुट्टै राखिएको कक्षा स्टलमा बालबालिकालाई १/१ गरेर निश्चित समय दिएर पढ्न, भन्न र लेख्न लगाएर पढाइ मेलामा छलफल गरिँदै आएको छ । आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न पहिलो पटक पढाइ मेलामा सहभागी भएका अभिभावक जंगबहादुर रोकायाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गतको पढाइ कुना मेलाले पढाइमा सुधार ल्याएको बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले विगतमा कृषिलाई प्राथमिकता दिएर स्याउ, ओखर र अंगुर खेतीलाई बजेट विनियोजन गरेकोमा अब नगरको पहिलो प्राथमिकता शिक्षालाई दिएर बजेट विनियोजन गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्