काठमाडौं– असार २२ गतेदेखि शुरू भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चियागफमा सीमित देखिएको छ । पटक–पटक बसेको केन्द्रीय समितिको बैठक अन्तरिम संरचना र १४औं महाधिवेशनको कार्यतालिकाबीच अल्मलिएको छ ।
संस्थापनइतर पक्षका नेताहरूले तत्काल महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने दबाब दिइरहेका छन् भने संस्थापन पक्ष विधानतः अन्तरिम संरचनाको काम सकेपछि स्वतः महाधिवेशन तयारीको काम शुरू हुने बताइरहेको छ ।
बुधवारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाबीच महाधिवेशनको कार्यतालिकाकै विषयमा चर्का-चर्की भएको थियो ।
सभापति देउवाले चाहिने नचाहिने कुरा गरेर आफूलाई पार्टीभित्र भिलेन बनाउन खोजेको आरोप पौडेललाई लगाएका थिए । जे कुरामा पनि आफूमाथि नै दबाब बनाउन खोजेकोमा देउवाको आपत्ति थियो ।
केन्द्रीय समितिको बैठकमा दोस्रो बुँदामा रहेको संक्रमणकालीन संरचना र महाधिवेशनको मिति तय विषयको एजेण्डामा छलफल भइरहेको छ । आधादर्जन भन्दा बढी बैठकमा यही एउटा एजेण्डामा मात्र छलफल भएपछि बाँकी रहेका १३ वटा एजेण्डा 'रमिते' बनेका छन् ।
संस्थापन पक्ष महाधिवेशन र संक्रमणकालीन संरचनाका विषयमा थप बहस छलफल नगर्ने पक्षमा देखिएको छ भने वरिष्ठ नेता पौडेल छलफल भइरहेको एजेण्डामा ठोस निर्णय नहुने बेलासम्म अन्य एजेण्डामा जान नहुने तर्क गर्छन् ।
सभापति देउवा निकट मानिने नेता गोपालमान श्रेष्ठले संक्रमणकालीन संरचना बनेपछि कांग्रेस महाधिवेशको तयारीमा आफसेआफ लाग्ने बताए ।
'अहिले नै चाहियो नत्र हुन्न भन्ने जस्तो बहस गरेर हुन्छ ?' शुक्रवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, 'सबै कुरा विधि, पद्धति र प्रक्रियाले गर्दै जाने हो । विधानमा उल्लेख गरिएअनुसार पहिला पार्टीलाई संघीय संरचनामा लैजानुपर्छ त्यसपछि बल्ल महाधिवेशनको कुरा आउँछ ।'
श्रेष्ठले महाधिवेशन २०७७ सालको फागुनमै हुने दाबी गरे । 'कसैले अर्ली महाधिवेश भन्या छ, कसैले टाइम्ली भन्या छ, कसैले के भन्या छ,' श्रेष्ठले आक्रोश पोखे, 'सबैलाई थाहा छ तयारीका लागि समय लाग्छ भन्ने । अब चुपचाप बसे हुन्छ, महाधिवेशन २०७७ सालको फागुनमै हुन्छ ।'
किन डराए कार्यतालिकासँग देउवा ?
संस्थापनइतर पक्षले तत्काल महाधिवेशनको कार्यतालिका चाहियो भनेर बैठकमै उफ्रिन थालेपछि कार्यतालिकाको बहस नेताहरूबीच 'इगोको बहस' जस्तै भएको छ ।
बुधवारको बैठकमा देउवा 'तपाईंहरूले जे भनेपनि मैले मान्नुपर्ने हो र ? मलाई पेल्ने ? मलाई भिलेन बनाउन खोज्ने ?' भनेर पड्किएपछि स्थिति केही तनावपूर्ण बनेको थियो ।
अन्तरिम संरचनाको काम नसकी महाधिवेशनको कार्यतालिका ल्याउने पक्षमा आफू नभएको देउवाले स्पष्ट सन्देश दिइसकेका छन् ।
२०७७ सालको फागुनभन्दा पहिला महाधिवेशन नगर्ने स्पष्ट धारणा लिएर बसेका देउवाको अहिल्यै कार्यतालिका सार्वजनिक गर्दा विधानविपरीत गएको सन्देश जाने बुझाई छ ।
कांग्रेसको विधानमा ४/४ वर्षमा महाधिवेशन हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
७७ सालको फागुनमा महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्दा आफ्नो कार्यावधि थप १ वर्ष बढाउन खोजेको र पदको लालची भएको सन्देश कार्यकर्तामा पुग्ने भएपछि देउवाले अहिल्यै कार्यतालिका सार्वजनिक नगर्ने अडान लिएको हुनसक्ने संस्थापनइतर पक्षका एक नेताको दाबी छ ।
तर देउवानिकट एक नेताले कार्यतालिका पहिला कि संरचना निर्माणको काम पहिला भन्ने बहस 'कुखुरा पहिला कि अण्डा पहिला' भन्ने जस्तै भएको बताए ।
'विधानले स्पष्ट रूपमा संक्रमणकालीन संरचना बनाऊ भनेर भनेको छ,' उनले भने, 'अनि महाधिवेशन गर्नुभन्दा एक वर्ष पहिला अधिवेशनमार्फत सबै तह गठन भइसक्नुपर्ने पनि भनेको छ । स्पष्ट छैन र अब कांग्रेसले के गर्नुपर्छ भन्ने ? अनि कार्यतालिकामै अल्झाउने कांग्रेसलाई ?'
महाधिवेशन ७७ फागुनमा हुने कुरा 'ओपन सेक्रेट' जस्तै
कांग्रेसकी नेतृ डिला संग्रौलाले महाधिवेशन यही फागुनमा हुन नसक्ने कुरा ओपन सेक्रेट जस्तै भएको बताइन् ।
लोकान्तरसँग कुरा गर्दै संग्रौलाले भनिन्, 'महाधिवेशन तयारीका लागि कमसेकम पनि एकवर्ष लाग्छ, त्यो भन्दा अगाडि पार्टीलाई संघीय संरचनामा लैजानुपर्यो । हालको निर्वाचित कार्यसमितिको म्याद एक वर्ष थप हुन्छ भन्ने विषयमा त बहस नै गर्नुपरेन । तर फलानो दिन नै महाधिवेशन गर्ने भनेर कार्यकर्ता त सूचित हुनुपर्यो नि !'
आफू सहमतिको पक्षमा रहेको संग्रौलाको दाबी छ । 'पदाधिकारीहरूबीच सहमति हुनुपर्छ र केन्द्रीय समितिका सबैलाई सन्तुष्ट बनाउनुपर्छ,' संग्रौलाले भनिन् ।
केही दिनअघि लोकान्तरसँग कुरा गर्दै केन्द्रीय समिति सदस्य नरहरि आचार्यले कांग्रेसले कार्यतालिका बनाएर अहिल्यै र आजैदेखि संक्रमणकालीन व्यवस्था र महाधिवेशन तयारीको बाटोमा जानुपर्ने बताएका थिए ।
'महाधिवेश अहिलेकै फागुनमा हुन नसक्नेमा हामी सबै विश्वस्त छौं,' आचार्यले भने, '७७ सालको फागुनमा गर्ने हो भनेपनि आज र अहिल्यैदेखि तयारी थाल्नुपर्छ ।'
'ग्रीन टी' र 'सुगर फ्री बिस्कुट'
केन्द्रीय समितिको बैठकमा नेताहरू सबैलाई ग्रीन टी बाँड्ने गरिएको एक सहयोगीले बताए ।
'प्रायः सबै नेताहरू ग्रीन टी पिउन रुचाउनुहुन्छ,' उनले भने, 'खाजाको विषयमा भने नेताहरू त्यति हार्ड एण्ड फास्ट हुनुहुन्न । हामीले सुगरफ्री बिस्कुट दिने गरेका छौं । कतिपयले खानुहुन्छ कतिपयले खानुहुन्न ।'
ग्रीन टी 'सर्भ' गरिने केन्द्रीय समितिका लगातारका बैठकहरू कांग्रेसलाई साँच्चिकै हरियाली बनाउने बाटोतर्फ लागिरहेका छन् त ?
'सबैले कांग्रेसकै हीतका लागि भनेर ओठे कुरा गर्छन्, तर कतिपय कांग्रेस मास्न पनि लागिपरेका छन्,' पूर्वसचेतक लक्ष्मण घिमिरेले लोकान्तरसँग भने, 'अहिलेको नेतृत्वले कांग्रेसलाई हरियाली नबनाउने प्रस्ट छ ।'