२२ असार २०८३, सोमबार
भाग्नेहरू फन्दामा

जरिवाना तिर्न विभाग धाउँदै अनुगमनबाट भाग्ने पसले

असोज १६, २०७६
जरिवाना तिर्न विभाग धाउँदै अनुगमनबाट भाग्ने पसले

काठमाडौं– अनुमगनका क्रममा पसल बन्द गरेर भागेका गोंगबुका पसलेहरूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएर जरिवाना तिर्न थालेका छन् ।

गत १२ असोजमा विभागले अनुगमन गर्ने क्रममा अनुगमन टोलीलाई असहयोग गर्ने तथा भाग्ने गोंगबुको बीजी मलका पसेलहरू अन्ततः विभागमा आएर जरिवाना तिर्न थालेका हुन् ।

बिहीवारसम्म विभागमा आएर ९ वटा पसलले जरिवाना तिरिसकेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

विभागका अनुसार बीजी मलको एबी फेसन, सुलु गियर, पवित्रा फेन्सिकोज, द फेन्स बकेट, ढोर पाटन स्पोकु लगायतका पसलेले जरिवाना तिरेर पसल सुचारू गरेका छन् ।

त्यस्तै मनकामना इलेक्ट्रोनिक्स, मंगोलियान ब्रोटर, फेसन ब्लास्ट, सूर्यबहादुर हमाल स्टोर र बोइज हाउसले पनि विभागमा आएर जरिवाना तिरेको विभागले जनाएको छ ।

२४ घण्टे म्याद दिइएका व्यापारीहरूले विभागमा आएर जरिवाना तिरिसकेका विभागका अनुगमन निर्देशक शोभाकर रेग्मीले जानकारी दिए ।

केही व्यापारीलाई ७ दिने म्याद पनि दिइएको र तिनीहरू अझैसम्म नआएकाले ताकेता गरिने विभागले जनाएको छ ।

७ दिने म्याद पाउनेहरूमा बीएण्ड ब्वाइ र एस टाइटन आर  इन्टरनेसनल तथा बी एण्ड डी फेन्सी सूज स्टोर रहेका छन् । 

बी एण्ड सी फेन्सी सुज स्टोरलाई तत्काल जरिवाना तोकिएपनि तिरेको भौचर लिएर विभागमा उपस्थित नभएकाले उक्त पसलको कारोवार फुकुवा नभएको विभागले जानकारी दिएको छ ।

गत १२ असोजमा विभागले ४ वटा अनुमगन टोली बनाएर गोंगुबस्थित बिजी मलमा अनुगमनका लागि पठाएको थियो । अनुमगन टोलीले बी एण्ड डी फेन्सी सूज सेन्टरलाई बिक्री बिल विजक नदेखाएको भन्दै २ लाख रूपैयाँ जरिवाना तोकेको थियो ।

बी एण्ड डीलाई जरिवाना तोक्ने बित्तिकै त्यहाँका अन्य पसलेहरू पसल बन्द गरेर भागेका थिए । भागेपछि विभागले विभागमा उपस्थित भएर जरिवाना तिर्न निर्देशन दिँदै ७ दिने र २४ घण्टे म्याद दिएको थियो । अनुगमनका क्रममा पसलहरू बन्द गरेर भाग्ने पसलहरूलाई विभागले अनुगमनमा असहयोग कसूरमा २०/२० हजार रूपैयाँका दरले जरिवाना गरिरहेको छ ।

यसअघि विभागले काठमाडौं दरबार मार्गका पसलहरूमा अनुगमन थाल्दा त्यहाँका पसलेहरू पनि भागेका थिए । तिनीहरू पनि विभागमा आएर जरिवाना तिरिरहेका विभागले जानकारी दिएको छ ।

विभागले पछिल्लो समय दशैंलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा अनुमगनलाई तीव्रता दिएको छ । असोजलागेयता विभागले १ सय ५५ वटा पसलमा अनुमगन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्