२१ असार २०८३, आइतबार

दबाबपछि दृष्टिविहीन शिक्षकले गर्न पाए हाजिरी

मंसिर २९, २०७६
दबाबपछि दृष्टिविहीन शिक्षकले गर्न पाए हाजिरी

विद्यालयले हाजिर नगराएपछि तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका एक स्थायी शिक्षकलाई आइतवार हाजिर गराएको छ । प्रा.वि. तहका स्थायी शिक्षक जीवन पोखरेललाई तिलोत्तमा नगरपालिकाले मंसिर ८ गते पशुपति मावि, कोटिहवामा पदस्थापन गरेको थियो । 

तर सो विद्यालयले अपाङ्गताको कारण देखाउँदै हाजिर गराएको थिएन । पोखरेल दृष्टिविहीन हुन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले मंसिर २ गते स्थायी नियुक्ति दिँदै उनलाई तिलोत्तमा नगरपालिका पठाएको थियो । तिलोत्तमा नगर शिक्षा समितिको बैठकले पशुपतिमा रिक्त दरबन्दीमा पोखरेललाई पदस्थापन गर्ने निर्णय गरेको थियो । नगर शिक्षा समितिको निर्णयअनुसार उनी हाजिर हुन विद्यालय पुगे पनि विद्यालय प्रशासनले व्यवस्थापन समितिको निर्णय भन्दै हाजिर गराएको थिएन । विद्यालयले हाजिर नगराई बेवास्ता गरेपछि उनी चौरमै बसेर घर फर्किँदै आएका थिए । 

नगरपालिकाको शिक्षा शाखाले हाजिर गराउन विद्यालयलाई पत्राचार गरे पनि त्यसलाई विद्यालयले वास्ता नगरी जवाफ पठाएको थिएन । आइतवार शिक्षा समिति संयोजक तथा नगर प्रमुख बासुदेव घिमिरे र समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्य विद्यालयमैं पुगेर निर्देशन दिएपछि पोखरेलले  हाजिर गर्न पाएका हुन् । विद्यालय जान थालेको २१ दिनपछि शिक्षक पोखरेललाई हाजिर गराइएको उप–सचिव गंगाराम आचार्यले बताए ।  

पोखरेलले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका हुन् ।’ प्रचलित नियमअनुसार मात्र होइन मानवीयताको कारण पनि हाजिर गराउनुपर्थ्यो । त्यसो नभएपछि हामीहरू आफैं विद्यालय पुगेर हाजिर गरायौं । पदस्थापन गरिएका शिक्षकलाई हाजिर नगराउने कामलाई कदापी राम्रो मानिँदैन,' उनले भने । संविधानअनुसार मावि तहसम्मको शैक्षिक अधिकार स्थानीय तहमा छ । 

शिक्षक सेवा आयोग पास गरेका दक्ष र क्षमतावान शिक्षकलाई विद्यालयले अपाङ्गतालाई नै कारण बनाएर हाजिर गर्न नदिएकाले यो विषयमा आफूहरूको ध्यानाकर्षण भएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । पदस्थापनलगत्तै निकै हर्षित भएर स्कुल पुगे पनि पोखरेललाई प्रधानाध्यापक वेदनारायण भट्टराईले हाजिर गर्न दिएनन् । अपाङ्गता भएका कारण आफ्नो विज्ञतालाई बेवास्ता गरेकामा पोखरेलको दुखेसो छ ।

’म कसैको दयामायाले शिक्षक सेवा आयोग पास गरेको होइन । मेरो क्षमता र दक्षतामाथि नै आँच पुग्ने गरी अपमानित गर्दा म निकै दुःखी छ । भोलि अर्को स्कूलमा सर्न सकिन्थ्यो होला तर मलाई राज्यले नियुक्ति गर्दा पनि हाजिर हुन दिइएन,’ पोखरेलले भने,’ आज नगरपालिकाको पहलमा हाजिर हुन पाउँदा न्याय पाएको महसूस गरेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्