०६ साउन २०८३, बुधबार

नेविसंघ र तरुण दलको समानान्तर समिति घोषणा गर्ने तयारीमा पौडेल पक्ष

देउवा पक्ष भन्छ– 'पार्टी नै फोरेर गए भइहाल्यो नि !'
पुस १, २०७६
नेविसंघ र तरुण दलको समानान्तर समिति घोषणा गर्ने तयारीमा पौडेल पक्ष

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल र नेविसंघ दुवैको समानान्तर समिति निर्माण गर्ने तयारी थालेका छन् । 

कांग्रेसभित्र विगत केही दिनयता देखिएको विवाद समाधान गर्न नेताहरूले तीव्र दौडधूप गरिरहेपनि विवाद समाधानको दिशातर्फ उन्मुख छैन, झनै उत्कर्षमा पुगिरहेको छ ।

'वरिष्ठ नेता पौडेलले सभापतिसँग नेविसंघ वा तरुण दलमध्ये कुनै एकको नेतृत्व माग्नुभएको छ,' स्रोतले लोकान्तरलाई भन्यो, 'यदि त्यसमा देउवाले सहमति नजनाए समानान्तर समिति घोषणा गर्ने तयारी छ ।'

समानान्तर समिति घोषणा गर्न तयारी गरिरहेको पौडेल पक्षले तयारीस्वरूप नेविसंघ र तरुण दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । 'मनोजमणि आचार्य र दीपक भट्टराईको टीमसँग आज उहाँहरूले छुट्टै छलफल गर्ने कार्यक्रम छ,' स्रोतले भन्यो, 'आचार्य र भट्टराई दुवैलाई समानान्तर समिति घोषणा गर्न तपाईंहरू तयार भएर बस्नुस् भनेर नेता पौडेलले भन्नुभएको छ ।' 

सभापति देउवाले राजीव ढुंगाना, वरिष्ठ नेता पौडेलले आचार्य र भट्टराईमध्ये कुनै एक र सिटौला पक्षले कुन्दन काफ्ले र युवराज पाण्डेमध्ये कुनै एकलाई नेविसंघको सभापति बनाउनुपर्ने अडान राखेका छन् । 

तर सिटौलापक्षले आफूले सभापति पाउनुपर्ने अडानमा लचिलो देखिएको छ । काफ्ले वा पाण्डेलाई सभापति बनाउनुपर्ने सिटौला पक्षको अडान भएपनि नेविसंघमा पहिला रहेको सिटौला पक्षको प्रतिनिधित्व कायम राख्ने हो भने सभापतिमा राखेको अडान फिर्ता हुने सम्भावना कायमै रहेको स्रोतको दाबी छ ।

सभापति देउवासँग सहमति नभए पौडेल पक्षले तरुण दलको पनि समानान्तर समिति घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । 

नाम उल्लेख नगर्ने शर्तमा तरुण दलको पौडेल पक्षका एक नेताले लोकान्तरसँग भने, 'हामीले समानान्तर समिति घोषणा गर्ने व्यापक तयारी गरिरहेका छौं । त्यसैको तयारीस्वरूप आज अपराह्न हाम्रो समूहको बैठक बोलाइएको छ ।'

आइतवार अपराह्न पौडेल पक्षले नेविसंघ र तरुण दलको छुट्टाछुट्टै बैठक बोलाएको हो । 

तरुण दलमा सभापति देउवाले जितजंग बस्नेत, वरिष्ठ नेता पौडेलले भुपेन्द्रजंग शाही र सिटौला पक्षले नारायण भट्टराईलाई नेतृत्व दिनुपर्ने अडान राख्दै आइरहेका छन् । 

केही दिनयता लगातार केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आइरहेको पौडेलपक्षलाई सहमतिमा ल्याउन देउवा पक्षको प्रयास कायमै छ ।

सहमतिकै लागि भनेर शनिवार सभापति देउवाले उपसभापति निधिलाई अगाडि सारेर वार्ता समिति पनि गठन पनि गरेका छन् । समितिमा पौडेलपक्षबाट प्रकाशमान सिंहलाई अगाडि सारिएको थियो । 

वार्ता समितिले निरन्तर बैठकहरू बोलाएर सहमतिको प्रयास गर्ने प्रयास जारी राखेको अवस्थामा पौडेलपक्षले नेविसंघ र तरुण दलमा समानान्तर संगठन घोषणा गर्ने तयारी गरेको हो ।

पार्टी नै फोरेर गए भइहाल्यो नि - देउवा पक्ष 

सभापति देउवा पक्षले भने समानान्तर समिति घोषणा गर्ने विषय हावादारी भएको बताएको छ ।

लोकान्तरसँग कुरा गर्दै देउवापक्षीय एक नेताले भने, 'हामीलाई कांग्रेस कमजोर बनाएको आरोप लगाउने उहाँहरूले नै यस्तो हर्कत गर्न खोज्ने ? यसरी कांग्रेस बलियो हुन्छ ?'

उनले समानान्तर समिति घोषणा हुनै नसक्ने बताए । 'एक दुईजनाको लहडमा समानान्तर संगठन बन्ने भए बनाए हुन्छ । त्यतिमात्र होइन, पार्टी नै फोरेर गए भइहाल्यो नि ! विधि र विधानको वकालत गर्ने अनि बैठकमा सहभागी नहुने प्रवृत्ति उहाँहरूमा देखियो । आफूले भनेजस्तो भए विधि हुने नत्र नहुने भन्ने कुरा कसरी तर्कसंगत हुन्छ ?'

salt training

कमेन्ट गर्नुहोस्