२१ असार २०८३, आइतबार

पूर्वकूटनीतिज्ञ एवं साहित्यकार यदुनाथको नाममा हुलाक टिकट प्रकाशित

पूर्वकूटनीतिज्ञ एवं साहित्यकार यदुनाथको नाममा हुलाक टिकट प्रकाशित

पूर्वकूटनीतिज्ञ एवं साहित्यकार प्रो. यदुनाथ खनालको संस्मरणमा हुलाक सेवा विभागले रु. १० दरको हुलाक टिकट प्रकाशित गरेको छ ।

उक्त टिकट प्रकाशनको प्रथम दिवसीय टाँचा मंगलवार काठमाडौंमा एक समारोहका बीच हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले लगाएका हुन् । विभागले सन् २०१९ मा प्रकाशित गरेका टिकटमध्ये यो अन्तिम टिकट हो ।

विसं २०६१ साल असोजमा दिवंगत खनाल शिक्षाविद्, कूटनीतिज्ञ तथा साहित्यकार (समालोचक) थिए ।

कूटनीतिक सेवामा रहँदा खनालले भारत, चीन र अमेरिकामा नेपालको राजदूतको रूपमा काम गरेका थिए । नेपालको लागि सर्वाधिक महत्त्व राख्ने दुई छिमेकी र अमेरिका गरी तीन वटै देशमा राजदूत भएर काम गर्ने उनी अहिलेसम्मका एकमात्र कूटनीतिज्ञ हुन् ।

खनाललाई संस्कृत, नेपाली र अंग्रेजी तीन वटै भाषामा दख्खल राख्ने विद्वान्‌को रूपमा चिनिन्छ ।

एक समय त्रि-चन्द्र कलेजका प्राध्यापक रहेका खनाल पछि निजामती सेवामा प्रवेश गरी पहिले गृह मन्त्रालय र पछि परराष्ट्र मन्त्रालयको सेवामा रहे । एक समय  लोकसेवा आयोगको अध्यक्ष भएर पनि उनले सेवा गरेका थिए ।

उनको जीवनी लेख्ने डा. जयराज आचार्यको संयोजकत्वमा आज काठमाडौंमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाले खनाल नेपालका लागि हेनरी किसन्जर नै हो भन्ने मन्तव्य राखेका थिए ।

त्यस्तै, पूर्वमन्त्री डा. भेषबहादुर थापाले कुनै बेला राजा वीरेन्द्रले आफ्नो शासनकालमा खनाललाई परराष्ट्र मन्त्री हुन प्रस्ताव गरी खबर पठाउँदा पद अस्वीकार गरेको स्मरण गरे । तर पछि उनले लोक सेवा आयोगको अध्यक्ष रहेर काम गर्ने प्रस्ताव भने स्वीकार गरेका थिए ।

खनालले नेपालको कूटनीति सेवाका लागि उपयोगी हुने र नेपालको परराष्ट्र सम्बन्धमा अभिरुचि राख्ने जोसुकैलाई काम लाग्ने गहकिला पुस्तकहरू लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्