
बुटवल उपमहानगरपालिकामा निर्माण साम्रागीको गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । स्थानीय सरकारको आफ्नै गुणस्तर प्रयोगशाला सञ्चालनमा आएको प्रदेशमै पहिलो हो ।
अत्याधुनिक उपकरणहरु राखिएको यसक्षेत्रको पहिलो र आधुनिक प्रयोगशालाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हालै एक समारोहबीच उद्घाट गरे ।
त्यसअवसरमा प्रमुख सुवेदीले निर्माण सामग्रीको गुणस्तर नापजाँच पछि मात्रै प्रयोगमा ल्याइने भएकाले भवनसंहीताको कार्यान्वयनलाई समेत अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
बुटवलका आयोजनाहरुमा प्रयोग गरिने निर्माण सामग्रीहरुको अब यहीँ प्रयोगशालामा परीक्षण गराएपछि मात्रै स्वीकृती दिइने छ । बुटवलका आयोजनाका अतिरिक्त छिमेकका पालिका तथा आयोजनाहरुले पनि यहीँ प्रयोगशालामा शुलभ परीक्षण गराउन सक्नेछन् ।
यसअघि बुटवल उपमहानगरपालिकालेसमेत आफ्नै आयोजनामा प्रयोग गरिने सामग्रीलाई सडक विभाग र व्यापारिक मार्ग आयोजनाका कार्यालयमा रहेका प्रयोगशालामा लगेर परीक्षण गराउँदै आएको थियो । अब आफ्नै प्रयोगशाला निर्माण भएपछि पहिलेको भन्दा सहज र सुभल हुने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
कुनै पनि निर्माण कार्यका लागि प्रयोग गरिने सामग्रीको गुणस्तर नापजाँच नगराई अब प्रयोग गर्न पाइनेछैन । भवनसंहीताको पूर्ण कार्यान्वयन गर्नुका साथै इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस) लागू गरेको बुटवलले अर्को नौलो र व्यवस्थित कामका रुपमा आधुनिक प्रयोगशाला निर्माण गरेको छ ।
प्रयोगशालाको निर्माणसंगै काममा सहजता आउने र महँगोमा बाहिर लगेर परीक्षण गराउनुपर्ने बाध्यताको अन्त्य हुनुका साथै भवनसंहीता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने बुटवल उपमहानगरपालिका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।
प्रयोगशालामा बुटवल र त्यस बाहिरका लागिसमेत सहुलियत दररेट निर्धारण गरेको छ । प्रयोगशालामा सिभएनालाइसिस सबबेस तथा बेस, फिल्ड डेनसिटी, प्रोक्टर कम्प्याक्ट प्रतिसेट, कम्प्रेसिभ स्ट्रेन्थ क्युब र डक्टाइलको परीक्षण गरिनेछ ।
बुटवल उपमहानगरपालिकाको कार्यालय परिसरमा करिब २८ लाख बारबरको लागतमा उक्त प्रयोगशालाको निर्माण गरिएको छ । बुटवलमा उपमहानगर र उपभोक्ता समितिमार्फत गरि करिब एक हजार जति आयोजना सम्पन्न हुँदै आएका छन् । यसपटक भने उपमहानगरले टुक्रे आयोजनालाई बन्द गराएको छ ।
सिभएनालाइसिस सबबेस तथा बेसको परीक्षण बुटवलका आयोजनाका लागि आठ सय रुपैयाँ र बाहिरका लागि नौ सय रुपैयाँ, फिल्ड डेनसिटी प्रतिसेट छ सय रुपैयाँ र बुटवल बाहिरका आयोजनाका लागि सात सय रुपैयाँ दररेट निर्धारण गरिएको छ ।
यसैगरी प्रोक्टर कम्प्याक्ट प्रतिसेटका लागि एक हजार पाँच सय ३० तथा बाहिरका लागि एक हजार आठ सय रुपैयाँ दररेट निर्धारण गरिएको छ । यस्तै कम्प्रेसिभ स्ट्रेन्थ क्युब टेष्ट प्रतिपिस एक सय र बाहिरका लागि एक सय ५० र डक्टाइलको परीक्षण पाँच सय रुपैयाँ दररेट निर्धारण गरिएको छ ।
बुटवलले उपमहानगरमा करिब ४० हजार घरको डिजिटल नम्बरिङ्ग गरिसकेको छ भने प्रत्येक वडाको वस्तुगत विवरण संकलनलाई अन्तिम चरणमा पुर्याएको छ । बुटवलले आवधिक र दीर्घकालीन महत्वका योजनाहरु बनाएर काम गर्दै आएको छ ।