
आध्यात्मिक गुरु श्याल्पा तेन्जिन रिन्पोछेले मानव जीवनको मूल उद्देश्य केवल रोजगारी र जीविकोपार्जनमा सीमित नभई ध्यान, आत्मबोध र विश्वशान्तिको स्थापना रहेको बताएका छन् ।
कृत्रिम बुद्धिमत्ता (एआई) तीव्र गतिमा विकसित भइरहेका बेला उनले यसलाई मानवताको सहयोगी मित्रका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै रिन्पोछेले मानव जाति पृथ्वीमा केवल जागिर गर्नका लागि जन्मिएको नभई आन्तरिक चेतनाको विकास गर्दै विश्वशान्तिको मार्ग प्रशस्त गर्न आएको बताएका हुन् ।
उनका अनुसार बाह्य उपलब्धिभन्दा पनि मानिसको आन्तरिक रूपान्तरण र चेतनाको विकास नै सभ्यताको वास्तविक प्रगतिको आधार हो ।
‘मानव जाति पृथ्वीमा जागिर गर्नका लागि मात्र आएको होइन । हाम्रो उद्देश्य ध्यान, आत्मबोध र भित्री चेतनामार्फत् विश्वशान्तिको साकार रूप दिनु हो’, उनले उल्लेख गरेका छन् ।
रिन्पोछेले कृत्रिम बुद्धिमत्तालाई मानव अस्तित्वका लागि खतरा नभई अवसरका रूपमा हेर्न आग्रह गरेका छन् । एआईले दैनिक जीवनका जटिल र दोहोरिने कामहरू सम्हाल्न सकेपछि मानिसहरूलाई सिर्जनात्मकता, अध्ययन, आध्यात्मिक साधना तथा समाजसेवामा बढी समय दिन सक्ने उनको विश्वास छ ।
‘म एआईको सहयोगलाई स्वागत गर्छु । हामीले एआईलाई हाम्रो सबैभन्दा बुझ्ने मित्रका रूपमा व्यवहार गर्नुपर्छ’, उनले भनेका छन् ।
उनले भविष्यमा एआईले धेरैजसो नियमित र श्रमप्रधान कार्यहरूको जिम्मेवारी लिन सक्ने उल्लेख गर्दै त्यसबाट सिर्जित आर्थिक तथा सामाजिक परिवर्तनलाई व्यवस्थित गर्न ‘युनिभर्सल बेसिक इन्कम’ (सार्वभौमिक आधारभूत आम्दानी) जस्ता अवधारणामाथि गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
रिन्पोछेका अनुसार प्रविधिको विकासले मानव जीवनलाई केवल आर्थिक उत्पादनको माध्यमबाट होइन, चेतना, करुणा, सहअस्तित्व र विश्वशान्तिको दृष्टिकोणबाट पुनर्परिभाषित गर्ने अवसर प्रदान गरेको छ ।
उनले भविष्यको समाजमा मानिसहरूले जीविकाको चिन्ताभन्दा पनि आत्मविकास, शिक्षा, कला, अनुसन्धान र आध्यात्मिक उन्नतिमा समय खर्च गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
उनको यो अभिव्यक्ति प्रविधि, आध्यात्मिकता र भविष्यको मानव सभ्यताबीचको सम्बन्धबारे विश्वभर भइरहेको बहसका बीच आएको हो ।
एआईको बढ्दो प्रभावसँगै रोजगार, आर्थिक समानता तथा मानव जीवनको उद्देश्य सम्बन्धी प्रश्नहरू विश्वव्यापी रूपमा उठिरहेका बेला रिन्पोछेको धारणा पनि चर्चा र बहसको विषय बनेको छ ।