
दोलखा घर भएर काठमाडौंको बौद्ध बस्दै आएका साङ्गे शेर्पा म्यानपावर व्यवसायीलाई विश्वास गर्दा थुनामा परेका छन् ।
साङ्गेले तीन वर्षदेखि बौद्धमा ‘बौद्ध क्याफे’ नामको कफीशप सञ्चालन गर्दै आएका थिए । उनको कफीशपमा ग्लोबल वर्ल्ड नामको म्यानपावर कम्पनीका सञ्चालकद्वय छिरिङ शेर्पा र एकराज शर्मा पुगिरहन्थे ।
त्यसैक्रममा उनीहरूको परिचय भयो । गफैगफमा एकदिन छिरिङले साङ्गेलाई प्रस्ताव राखे,‘विदेश जाने मान्छे भए पठाउनु तपाईंलाई पनि राम्रो कमिसन आउँछ ।’
साङ्गेले चिनजानका साथीहरू मिङ्मा शेर्पा र फुरा आम्दु शेर्पालाई कोरिया पठाइदिने बताए । साङ्गेले आफूले राम्रो म्यानपावर भेटेको भन्दै दुवै जनालाई कोरिया जान ९ लाख रूपैयाँ लाग्ने बताए । मिङ्मा र फुरा आम्दुले आफ्नो राहदानी साङ्गेलाई बुझाए ।
उनीहरूले पटकपटक गरेर सेन्चुरी बैंकमा रहेको साङ्गेको खातामा ९ लाख रूपैयाँ जम्मा गरिदिए । कमिसन पाउने लोभमा मख्ख परेका साङ्गेले उक्त रकम बैंकबाट झिकेर राहदानीसहित ग्लोबल वर्ल्ड म्यानपावरका सञ्चालक छिरिङलाई लगेर बुझाइदिए ।
केही दिनपछि मिङ्मा र फुरा आम्दुले ‘कहिले पठाउँछौ कोरिया’ भन्दै साङ्गेलाई सोधे । साङ्गेले म्यानपावर सञ्चालक छिरिङलाई फोन गरे । फोन लागेन । अनि उनी म्यानपावरको कार्यालय सामाखुसी पुगे । तर, कार्यालय बन्द थियो । बुझ्दै जाँदा छिरिङ र एकराज पैसा लिएर भारततर्फ भागेको सूचना पाए ।
साङ्गे उनीहरुलाई खोज्न भन्दै दार्जिलिङदेखि दिल्लीसम्म पुगे तर, कतै भेटिएनन् । उनीसँग दुई वटा विकल्प थियो । पहिलो; म्यानपावर सञ्चालकलाई पीडितको सम्पर्क ल्याइदिने, दोस्रो; उनले जोजससँग पैसा लिएका थिए, उनीहरूलाई फिर्ता गर्ने ।
पहिलो विकल्प सम्भव नभएपछि साङ्गे पीडितलाई पैसा बुझाउने योजनामा थिए । यता पीडितहरूले प्रहरीमा जाहेरी दिइसकेका थिए । पक्राउ पुर्जी जारी भएपछि साङ्गे पक्राउ परे ।
त्यसो त साङ्गेले मिङ्मा र फुरा आम्दुमात्रैलाई कोरिया पठाइदिने भनेर पैसा बुझेका होइन रहेछन् । उनले बौद्ध तीनचुली बस्ने आङ बाबु शेर्पालाई कोरियामै पठाइदिन्छु भनेर दुई लाख, निमा साङ्गे शेर्पाबाट चार लाख ५० हजार, सिन्धुपाल्चोकका दोर्जे शेर्पाबाट एक लाख ५० हजार, जोरपाटी बस्ने तेन्जी शेर्पाबाट चार लाख ५० हजार रूपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । त्यो कुरा साङ्गे आफैंले पनि स्वीकारेका छन् ।
पीडितले दिएको जाहेरीमा साङ्गेले आफूहरूलाई मीठो बोली र झुट्टा आश्वासन दिएर पैसा बैंक खातामा हाल्न लगाई कोरिया नपठाइ ठगी गरेको उल्लेख गरेका छन् ।
प्रहरी वृत्त बौद्धले साङ्गेविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ । यो मुद्दामा मंगलबार थुनछेक बहस जारी छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार कोरियामा कामदारका रूपमा पठाइदिन्छु भनेर साङ्गेले सात जनाबाट पैसा उठाएर कोरिया नपठाइ पैसा फिर्ता नदिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।