१२ असार २०८३, शुक्रबार

डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु, पत्नी घाइते

असार ९, २०८३
विराटनगर
डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु, पत्नी घाइते

सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई)को मृत्यु भएको छ ।

हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका– ६ नरह चोकनजिक मंगलबार दिउँसो भएको दुर्घटनामा वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको हो ।

सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेबेका अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका ५० वर्षीय वरिष्ठ सई यादव गम्भीर घाइते भएका थिए ।

टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए ।

दुर्घटनामा यादवकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ । हाल उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ ।

प्रहरीले कार चालक मोरङको कटहरी गाउँपालिका–३ घर भएका ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ ।

डा. चौधरी चिमडी बजारमा एक्स–रे गर्नका लागि जाँदै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्