
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा आर्थिक प्रतिवेदन पेस गरेको छ । कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा पार्टीको कुल आम्दानी १२ करोड २४ लाख १५ हजार रुपैयाँ पुगेको छ। आम्दानीको मुख्य स्रोत चन्दा तथा सहयोग, उम्मेदवार शुल्क, सदस्यता शुल्क र लेभी रहेको जनाइएको छ।
जसमध्ये खर्च कटाएर चालु आर्थिक वर्षमा पार्टीले ५ करोड ६१ लाख ७८ हजार रुपैयाँ बचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा पार्टी १ करोड ६८ लाख रुपैयाँ घाटामा पुगेको थियो । त्यस्तै, उक्त वर्ष लिइएको ४५ लाख रुपैयाँ कर्जा समेत पूर्ण रूपमा भुक्तानी गरिसकेको रास्वपाले जनाएको छ।
पार्टीको कुल सम्पत्ति ४ लाख ५७ हजार रुपैयाँबाट बढेर ८ करोड ७ लाख ६० हजार रुपैयाँ पुगेको तथा जगेडा कोष ६ करोड ५५ लाख २३ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी चालू आर्थिक वर्षमा पार्टीको सदस्य संख्या ३ लाख ९१ हजार ४१८ पुगेको रास्वपाले जनाएको छ। पार्टी स्थापनाको प्रारम्भिक चरणमा ३७ हजार १६४ सदस्य रहेकोमा चार वर्षमै उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।