
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारको पूरै संयन्त्र लागिरहँदा यही मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्न खोजिएको छ ।
विशेषगरी दैनिक उपभोग्य सामान, खाना पकाउने एपी ग्यास, पेट्रोल लगायतमा कृत्रिम अभाव तथा कालोबजारी मौलाएको विषयमा केही दिनयता उपभोक्ताको गुनासो सुनिँदै आएको छ ।
तर पोखरा महानगरपालिकाले रोगको सम्भावित जोखिम भएपनि त्रसित हुनु नपर्ने महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
संकटको मौकामा छोपेर कालोबजारी गर्ने व्यवसायीलाई अनुगमन समितिले कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगर अनुगमन शाखा प्रमुख किरण कोइरालाले अनुगमन प्रभावकारी बनाउन बजार अनुगमन निर्देशिका २०७४ बमोजिम वडास्तरमा समेत समितिलाई क्रियाशील बनाई स्थानीय प्रशासनको समन्वयमा सम्बन्धित वडामा बजार अनुगमन तीब्र पार्न सबै वडाका अध्यक्षलाई जानकारी गराइएको बताउँछन् ।
त्यसका लागि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले पोखरा–१५ अध्यक्ष एवं महानगर आर्थिक समिति संयोजक प्रकाश पौडेललाई बजार अनुगमन समन्वय गर्ने जिम्मेवारी समेत बजार अनुगमन समिति बैठकले दिइएको छ ।
उपप्रमुख गुरुङले भनिन्, ‘स्थानीय प्रशासन, महानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च र पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको सहभागितामा भएको अनुगमनबाट बजारमा उपभोग्य सामान ६ महिनाभन्दा बढी पुग्ने गरी पर्याप्त मौज्दात रहेको तथा आपूर्तिमा अवरोध नरहेकाले उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन ।’
बजारमा अत्यावश्क सामग्रीमा कालोबजारी गरेको, मूल्यवृद्धि गरेकोबारे कसैको गुनासो भए ९८५६००३०१५ नम्बरमा सम्पर्क गर्न सकिने छ ।
खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, पोखराका प्रमुख प्रशान्त पोखरेलले खाद्यान्न अभाव नभएको दाबी गर्दैै कसैले मूल्यवृद्धि गरे तथा कालोबजारी गरेको पाइएमा तत्काल सूचना दिन आग्रह गरेका छन् ।
यतिबेला स्यानेटाइजर, मास्क र उपभोग्य सामग्री सहज उपलब्धको लागि सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमन तीव्र पारिने उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।