
गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका सबै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बुधवार भिडियो कन्फरेन्स गरेका छन् । मुलुकका ७ प्रदेशमध्ये गण्डकीका मुख्यमन्त्रीले सम्बन्धित जिल्लाका प्रजिअसँग यसरी बुधवार गरेको छलफल पहिलो हो ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले कोरोना भाइरस जोखिम न्यूनीकरण गर्दै लकडाउनका बेला प्रदेशका सबै जिल्लाले साझा धारणा बनाउँदै अघि बढ्न मुख्यमन्त्री कन्फरेन्समा जुटेको जानकारी दिए ।
न्यौपानेका अनुसार गण्डकीमा हालसम्म कोरोना रोकथामको उपाय सन्तोषजनक रहेको र आगामी दिनमा थप के गर्न सकिन्छ भन्नेबारे सबै जिल्लाका प्रजिअले सम्बन्धित जिल्लाको बारेमा ब्रिफिङ गरेका थिए । बुधबार बिहान ११ बजेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर मुख्यमन्त्रीले गरेको सुरु गरेको कन्फरेन्समा मुस्ताङका प्रजिअ हुँदै ब्रिफिङ कास्कीमा प्रजिअसम्म आइपुगेर टुंगिएको थियो ।
करिब ३ घण्टासम्म चलेको सो छलफलमा लकडाउनका बेला भर्जिन ठाउँमा सामाजिक दुरी कायम गर्दै काम जारी राख्न सकिनेबारे छलफल भएको थियो ।
यसरी कृषि उपज, उत्पादनमूलक तथा हाइड्रोपावर लगायतमा काम अघि बढाउँदा संक्रमण जोखिमलाई ध्यान दिँदै बाहिरबाट कोही पनि मानिसलाई भित्र जान नदिइने र भित्र रहेका पनि बाहिर जान नपाउने उपाय अवलम्बन गर्नुपर्नेमा सचेतना अपनाइनेछ ।
जिल्लाको शान्तिसुरक्षा समेत यतिबेला सन्तोषजनक रहेको प्रजिअहरुले बताएका थिए । यस्तै, कास्की सहित स्याङ्जा, पर्वत, लमजुङ, गोरखा, म्याग्दी जिल्ला कोरोना संक्रमण हुन नदिन थालिएको कदम सन्तोषजनक रहेको बताइयो ।
स्याङ्जाका प्रजिअले आफूकहाँ पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट (पीपीई) पर्याप्त रहेको र आफूले अन्य जिल्लालाई पनि पठाउन सक्ने बताएका थिए । प्रदेशभित्र क्वारेन्टाइनमा बसेकाहरुलाई कम्तिमा २१ दिनसम्म राख्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।
कन्फरेन्समा कास्की सहित लमजुङ, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, गोरखा, तनहुँ, नवलपुर जिल्लाका प्रजिअहरु मुख्यमन्त्रीसँग जोडिएका थिए ।
गण्डकीमा हालसम्म २ जना महिलालाई कोरोनाको संक्रमण भेटिएको छ । ४ सय २१ जनाको पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएकोमा ४ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ६ जनाको नतिजा आउन बाँकी छ । प्रदेशमा हालसम्म ३ हजार १ सय ७ जनाको ¥यापिड डायनोस्टिक टेस्ट (आरडीटी) किट परीक्षण गरिएको छ ।