
सदैव खुला रहने नेपाल–भारत सीमा आजभोलि कडीकडाउ छ । आवतजावत बन्द छ ।
कोरोना भाइरस (कोभिड १९) महामारीपछि जारी लकडाउनको क्रममा सीमा क्षेत्रमा कडाइ गरिएको हो । सीमामा सशस्त्र प्रहरी तैनाथ छन् ।
आवश्यक पूर्वाधार नहुँदा खुला सीमा एकाएक कडाइ पारिनु कम चुनौतीपूर्ण पटक्कै छैन । एकाएक आएको चुनौतीको सामना यतिबेला सशस्त्र प्रहरी बलले गर्दै आएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको खक्रौला नाकादेखि दार्चुलाको तिंकरसम्म सशस्त्र प्रहरीले पोस्ट खडा गरी तैनाथ छ । कैलालीको १०१ किलोमिटरमा भारतसँगको सीमानामा ३८ वटा अस्थायी चेक पोस्ट र १०५ वटा डिउटी पोस्ट बनाइएको जनाइएको छ, जहाँ ५५ं० जना तैनाथ छन् ।
कैलालीको कर्णाली पारिको श्रीलंका टापुमा सशस्त्र प्रहरीले डुंगाबाट सीमामा गस्ती गरिरहेको छ । धेरै स्थानमा सशस्त्र प्रहरीले मचान बनाएर निगरानी बढाएको छ ।
यसैबीच तैनाथ सीमा सुरक्षा सशस्त्र प्रहरी बल सीमा क्षेत्रमा हुने घुसपैठ रोक्न तथा कोरोना नियन्त्रण तथा रोकथामका लागि भोकै–प्यासै खटिएको छ । बिहीवार राति आएको आँधीहुरीले त झनै विचल्ली बनाएको छ । कैलालीको हौसलपुर बोर्डर पोस्टमा ओत लाग्ने टेन्ट र भान्सा समेत उडाएको बताइएको छ ।
यातायात, खानेपानी, विजुली बत्तीको समस्या रहेको सीमा क्षेत्रमा खानेपानी जर्किनमा बोकेर खानुपर्ने र मोबाइल चार्ज नजिकैको बस्तीमा गएर गर्नुपर्ने बाध्यता रहेको प्रहरी अधिकारी बताउँछन् ।
पोस्टका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक (सई) गणेशकुमार बोहराले वर्षात् तथा घामपानीबाट बच्न चुनौती थपिएको बताए । ‘खानेपानी, बिजुली बत्तीको समस्या त छ नै, आँधीपानीबाट जोगिन ओत लाग्ने ठाउँको अभाव छ,’ उनी सुनाउँछन्, ‘सीमा क्षेत्रमा बाटोघाटो नहुँदा पनि ड्युटी गर्न समस्या भएको छ ।’

खानेपानीका लागि बोर्डर पोस्टभन्दा २/३ किलोमिटर टाढा पुरानो भुँइयाँफाटाँ गाउँ जोकैहियापुर टोलबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको प्रहरी नायब निरीक्षक बोहराले दुःखेसो सुनाए । उनी भन्छन्, ‘हावाँहुुरी, असिना पानीले टेन्ट उडाउनेको छ । टेन्ट जोगाउन सबै जना टेन्टमै झुण्डिनुपर्ने हुन्छ ।’
अतिआवश्यक सामग्री नहुँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी आफैं असुरक्षित रहेको भन्दै त्रिपाल लगायत विपत् व्यवस्थापनका सामग्री उपलब्ध भए सुरक्षित पोस्ट निर्माण गर्न सकिने माग छ ।
बिहीवार बिहान आएको हावाहुरी, असिनापानीले हौसलपुर पोस्टको भान्साको छानो समेत उडाएको थियो । बीओपी भुँइयाँफाँटाका इन्चार्ज मोहन भट्टले हावाहुरीले खानेपानीको फिल्टर पनि उडाएर क्षति पुर्याएको बताए । छुट्की पलियामा स्थापना गरिएको अस्थायी पोस्टमा पनि हावाहुरी र आँधीपानीले समस्या निम्त्याएको इन्चार्ज भट्ट बताउँछन् ।
स्थानीयको सहयोग
कैलारी गाउँपालिका–७ का वडाध्यक्ष कमलप्रसाद चौधरी पोस्टका लागि गाउँपालिकाबाट यातायातका लागि एउटा गाडी, विजुली बत्तीका लागि हौसलपुर गाउँको स्थानीयहरूसँग समन्वय गरी २ वटा सोलर बत्ती, बस्नका लागि टेबल कुर्सी लगायतका सामग्री उपलब्ध गराएको बताउँछन् ।
सरकारले सीमामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । भारतबाट आउने व्यक्तिबाट नेपालमा संक्रमण फैलिने उच्च जोखिम रहेको बताउँदै सरकारले सीमामा कडाइ गर्न निर्देशन दिएको छ ।


