
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निर्माण भएका आइसोलेशन, आइसियु, पिसिआर मेसिनलगायत संरचनाको अनुगमन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली जुम्ला पुगेको छ।
सो अवसरमा मुख्यमन्त्री शाहीले सबै कर्णालीबासी मिलेर कोराना भाइरसविरुद्धको युद्ध जित्नुपर्ने बताए। कोरोना भाइरसले कर्णालीमा पार्ने प्रभाव न्यूनीकरण गर्न प्रदेश सरकार निकै चनाखो भएर लागिपरेको मुख्यमन्त्री शाहीले बताए।
कर्णाली प्रदेश सरकारले सुर्खेतमा एक हजार क्वारेन्टाइन तयार गरेको छ। प्रत्येक जिल्ला र स्थानीय तहमा क्वारेन्टाइन बनाउनका लागि निर्देशनसमेत दिइएको र बाहिरबाट कर्णाली प्रदेशमा प्रवेशमा कडाइ गरिने मुख्यमन्त्री शाहीले बताए। मुख्यमन्त्री शाहीका अनुसार कर्णाली प्रदेशका ७१८ वडामा स्वास्थ्यकर्मी परिचालन भइसकेका छन् । कम्तीमा एक वडाबाट १० जनाको स्वाब परीक्षण गर्न निर्देशन दिइएको उनले बताए।