०५ साउन २०८३, मंगलबार

आमाहरूको दैनिकी (कविता)

कात्तिक २०, २०७४
आमाहरूको दैनिकी (कविता)



अनन्त अधिकारी

घर्कदो उमेर , जीर्ण शरीर ,
पटपटि चिरिएका पैतालाहरूले
अझै नापि रहेछन
सांझ बिहान गाम बेसीका बाटाहरू।

कैयौ भैसक्यो
सन्तान बिछोडको पिडा
मनभरी बोकेको ,
पिठ्युँ को भारी निमेष बिसाउदैमा
खै के पो हलुका होला र ?
के शितलता दिंदो हो
सिख्रे सिमल मुनिको चौतारीले?
मृत प्रायः ढुङ्गे धाराले के तृप्ती देला र
आमाहरूका तिर्खाहरूमा ?

दूर क्षितिज आँखा तन्काउदैमा
मुटुका टुक्राटुक्रा जोडिने भए
सुक्ने थिएनन ती नयन तलाउहरू ।
तै पनि आमाहरू पाली बसेकै छन
एउटा अमीट आसा
युद्ध मा बेपत्ता जेठाहरूको ,
रेगिस्तान र मलाया ले क्वाप्पै निलेका
माइला र साइलाहरूको जादुमय आगमनको ,
अझै दियो निभाउन सक्दैनन आमाहरू
दिनमै गायब गराइएकी
कान्छी छोरीहरूको
अकस्मात उपस्थितिको ।

एक खुड्किलामा
दसौं पटक निस्वास को युद्ध छेड्दै
घर पुगेका आमाहरू ,
तिमीलाई
पिठ्युँ को भारी नबिसाइ हेर्न मन लाग्छ
दैलो माथि तसबिरका सन्तान हरू
र हल्का प्रतीत हुन्छ
सय मनको भारी ।

एउटा भ्रम अनुभुत गर्दै हरेक सांझ ,
चिसो चुलो वरिपरि
पाकेको खान्की र रमाइरहेका सन्तान,
आमाहरूको मंझेरी पल्टिन्छ हरेक रात
आँखै अगाडि ढालिएका पतिको
फ्लास ब्याक अङालोमा ,
समय त्रासदिले हरण गरेका
आफ्नाहरूको फिर्तीको
एउटा नटुङ्गिने आसाको पहाड संग संगै ।।

salt training

कमेन्ट गर्नुहोस्