०३ साउन २०८३, आइतबार

‘ग्रीनजोन’मा धमाधम कोरोना संक्रमित देखिन थालेपछि उच्च सतर्कता

जेठ १४, २०७७
‘ग्रीनजोन’मा धमाधम कोरोना संक्रमित देखिन थालेपछि उच्च सतर्कता

 ‘ग्रीनजोन’ उपमा दिइएको गण्डकीमा एकै दिनको फरकमा स्याङ्जा र बागलुङमा गरी कुल ८ जना कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको छ ।

सम्भावित अन्य संक्रमित भेटिने आशंकामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लिने कार्य शुरू भएको छ । बागलुङको बढीगाड गाउँपालिका र तमनखोला गाउँपालिका गरी ६ जना पुरुषमा बुधबार कोरोना संक्रमण देखिएको हो ।

बढीगाड गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ र २० का २ जना पुरुष तथा तमनखोला क्वारेन्टाइनमा रहेका वर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरी ६ जनामा कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले बुधबार दिउँसो पुष्टि गरेको हो ।

सुनौली नाका हुँदै बागलुङ प्रवेश गरेका उनीहरू क्वारेन्टाइनमा रहेका बेला स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा ल्याइएको थियो । उनीहरूसहित १ सय २० जनाको स्वाब संकलन गरिएकोमा ६ जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबैको सदरमुकाम धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । बागलुङमै यसअघि भेटिएका २ जना बिरामी उपचारपछि घर फर्किएका थिए ।

बागलुङ कुँडुलेकी १९ वर्षीया युवती र बागलुङ –३, गौंडाकोटकी ६५ वर्षीया वृद्धामा कोरोना देखिएपछि उनीहरुको धौलागिरी अस्पतलामै उपचारपछि निको भइ घर फर्केका हुन् । दुवै जना चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट नेपाल फर्केका थिए ।

युवती र वृद्धा नेपालमै क्रमशः पाँचौं र छैटौं संक्रमित हुन् । युवतीलाई चैत १४ मा कोरोना पुष्टि भएकोमा झण्डै एक महिनाको उपचारपछि वैशाख १२ मा डिस्चार्ज गरिएको थियो । छैटौं संक्रमित वृद्धाका वैशाख ६ मा डिस्चार्ज भएको हो ।

यसरी झण्डै २ महिनापछि मात्र बागलुङमा थप केस देखिएको हो ।

उता, स्याङ्जामा मंगलबार पहिलो पटक कोरोना संक्रमित देखा परेका हुन् । वालिङ नगरपालिका वडा ७ घर भएका २० र २९ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । उनीहरु जेठ १० मा भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आइ क्वारेन्टाइनमै बसेका थिए ।

दुवै जनाको स्याङ्जा लिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षमा उपचार भइरहेको र अवस्था सामान्य रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले स्याङ्जा र बागलुङमा नयाँ केस देखिएपछि दुवै जिल्लामा अस्पतालको अवस्थाबारे अनुगमन गरेका छन् । उनका अनुसार दुवै जिल्लामा उच्च सतर्कता अपनाइएको र संक्रमित बिरामीको कन्ट्याक्ट ट्रेसिङ लिने काम भएको छ ।

यस्तै, बागलुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बागलुङका दुवै पालिकास्तरमा कन्ट्याक्ट ट्रेसिङ टीम गठन गरिएको बताए । उनका अनुसार बडिगाढमा चुडामणि कँडेल र तगामखोलामा तिलक छन्त्याल संयोजक रहेको सो टीम गठन गरी संक्रमित बिरामी भारतबाट कसरी आए, नेपालमा आइसकेपछि चढेको बसमा कति जना मानिस थिए, उनीहरु को-कोसँग सम्पर्कमा आए भन्नेबारे विस्तृत जानकारी लिइनेछ ।

साविक अञ्चलस्तरीय धौलागिरी अस्पतालमा कोरोनाको भयावहसँगै हाल आइसोलेसन वार्ड थपेर १२ पु¥याइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । बागलुङलाई सरकारले समेत पहिले उच्च जोखिमको जिल्लामा राखेको थियो ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १३ पुगेको छ । गण्डकीमै जेठ १ मा नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ मा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा प¥यो ।

जेठ ९ मा नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । लमजुङका संक्रमित बालकको काठमाडौंमा र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्