
प्रदेश नम्बर ५ मा मात्र कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ, यो देशभरका कुल संक्रमितको ३६ प्रतिशत हो ।
प्रदेशमा ३ जनाको कोभिड– १९ बाट मृत्यु भएको छ । मृत्यु हुने गुल्मी, अर्घाखाँची र बाँकेका छन् ।
शुक्रवारसम्म देशभर १ हजार २ सय १२ जना संक्रमित पुगेका छन् । प्रदेश ५ का १२ जिल्लामध्ये ९ जिल्लामा संक्रमित भेटिएका छन् ।
प्रदेश पाँचमा ४७ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा सबैभन्दा धेरै बाँके र कपिलवस्तुमा संक्रमित १ सयभन्दा बढी छन् ।

जेठ १० गते अर्घाखाँची भूमिकास्थानका ३५ वर्षीय पुरुषको भारतबाट नेपाल फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो ।
उनको मृत्युपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश ५ मा मात्रै ३२ हजार ३ सय ७३ जना क्वारेन्टाइनमा छन् ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। उमाशंकरप्रसाद चौधरीले प्रदेशमा भारतबाट आएर क्वारेन्टाइमा बसेकाहरूको स्वाब परीक्षण तीव्र पारिएको बताए ।
उनका अनुसार १२ हजार ३ सय ३१ जनाको स्वाब संकलन गरी जाँच गरिएको छ । ९ हजार १ सय ८० जनाको जाँच गर्दा ४ सय ३३ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
अझै २ हजार ७ सय ३८ जनाको रिर्पोर्ट आउन बाँकी छ ।
प्रदेश ५ मा विभिन्न नाकाबाट दैनिक हजारौं मानिसहरू नेपाल भित्रिएका छन् । अहिले प्रदेशका क्वारेन्टाइन भरिभराउ छन् ।