
सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ।
वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो।
चार वकिलले आज बहस गरेका छन् भने अब प्रतिवादीतर्फका तीन वकिलको बहस बाँकी छ। बाँकी बहस बुधबार हुने रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए। यसअघि सोमबार वादी तथाजाहेरीवालातर्फका वकिलको बहस सकिएको थियो ।
गत शुक्रबारदेखि शुरु भएको बहसमा वादीतर्फबाट पाँच सरकारी वकिल र जाहेरीवालातर्फका १८ वकिल गरी २३ जनाले बहस गरेका थिए। सोती मुद्दाको थुनछेक बहस बुधबार नै सकिने आकलन गरिएको छ।
बुधबार बहस सकिएमा सोही दिन नै थुनछेक आदेश आउन सक्ने स्रेष्तेदार बोहराले बताए। गत जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम (पश्चिम) का एक जनाको ज्यान गएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गर्दै जन्मकैद र आजीवन कारावाससम्मको कैद सजायको माग गरेको छ ।