
कास्कीको पोखरा महानगरपालिका–८ शिवालय मार्गस्थित दुईतले घर । यो घर अन्य घरको तुलनामा फरक छ ।
घरको खाली भाग कौसी, छत कतै पनि खाली छोडिएको छैन । मौसम अनुसारका लटरम्म तरकारी फलेका हुन्छन् । यसरी १५ वर्षदेखि चुल्होमा कराई बसालेर कौसीमा तरकारी टिप्ने गृहिणी हुन् – सरस्वती अधिकारी थापा ।
कोरोना महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनले धेरै जनाले घरबाहिर निस्कन पाएनन् । मीठोचोखोभन्दा पनि घरमै भएको अनाज मीठोमसिनो मानेर खाए ।
तर सरस्वतीको लागि भने कौसीभरि तरकारी फलिरह्यो । उनी कतै पनि तरकारी किन्न जानु परेन । बरु छिमेकी तथा आफन्तलाई पनि सहयोग गरिन् । उनले लकडाउनमा बाहिर खरिद गरेको भनेको मात्र आधा किलो बन्दा रहेछ, त्यसमा ५० रुपैयाँ खर्चिइन् ।
कौसीखेतीबाट पोखराभर परिचित सामाजिक अभियन्ता सरस्वतीको परिचय यत्तिमै सीमित छैन । समाजशास्त्रमा स्नातकोत्तर उनी स्टाफ नर्स हुन् । तनहुँको रम्घाकी सरस्वतीको विष्णुबहादुर थापासँग बिहे भयो । परिवारमा २ जुम्ल्याहा छोरीहरू इरा र इला छन् । तीमध्ये जेठी इरा चार्टर्ड एकाउन्टेन्ट (सीए) पूरा गर्दै छिन् भने कान्छीले एमबीबीएस उत्तीर्ण गरी तनहुँको दुलेगौंडा हेल्थ पोस्ट इन्चार्ज सम्हालेकी छन् । पति विष्णुबहादुर नेपाल राष्ट्र बैंकका रिटायर्ड हुन् । शिवालय मार्गको घरमा विजयपुर मेडिकल निरन्तर सञ्चालित छ । पति र छोरीले पनि बेलाबेलामा सरस्वतीलाई काममा सघाउँछन् ।
परिवारका यी ४ जना सदस्यको हरेक छाकमा कौसीकै तरकारी पाक्छ । ‘म किसान परिवारकी छोरी हुँ । किसानीकै रगत छ,’ कौसीखेतीमा आकर्षित हुनुको तथ्य खुलाउँदै सरस्वतीले लोकान्तरसँग भनिन्, ‘स्वास्थ्यकर्मी समेत भएकीले स्वास्थ्यप्रति सचेत छु । यो घर २०६२ सालमा बनेदेखि कौसीखेती थालेकी हुँ । बजारीया विषादी तरकारी खानुको सट्टा अर्गानिकको कुरै बेग्लै ।’
कुराकानीकै क्रममा उनले कौसी र छतभरि फलेका विभिन्न जातका तरकारी देखाइन् । उनले भनिन्, ‘देखिहाल्नु भो नि, यहाँ २०/२५ प्रकारका तरकारी छन् । काउली, बोडी, घिरौंला, करेला, टमाटर, घीउ सिमी, कर्कलो, अदुवा, भान्टा, रामतोरिया, फर्सीको मुन्टा, खुर्सानी (३ जातका), साग (३ जातका), प्याज, लसुन, धनियाँ, कागती, अम्बा, कुरिलो, आँप, लहरेआँप, स्ट्रवेरी लगायत जातका तरकारी र फलफूल छन् ।’
सिजन अनुसार उनले फलाएका तरकारी तथा फलफूलहरू घरपरिवारलाई पर्याप्त हुन्छ । आफन्त, चिनेजानेकालाई पनि उनले बेलाबेलामा उपहारस्वरुप तरकारी दिन्छिन् ।
मिहिनती सरस्वतीको कौसीखेती हेर्न छिमेकी मात्र हैन, टाढा–टाढाबाट मानिसहरू आउँछन् । यहाँ आउनेले आफ्नो घरमा पनि यस्तै तरकारी फलाउने योजना बुनेर फर्किन्छन् । सरस्वतीले भनिन्, ‘यहाँको कौसीखेती हेरेर फर्किनेहरूको लागि प्रेरणा बनेको छ । कतिपयले आफ्नो घरको खाली ठाउँ सदुपयोग गर्दै अब म पनि यस्तै गर्छु भन्नुहुन्छ ।’

आफूले जानेको सीप अरुलाई पनि सिकाउन लालायित हुन्छिन् उनी । ‘गर्दा गर्दै जानियो,’ उनी भन्छिन्, ‘जानेको सीप सिकाउँदा रमाइलै हुन्छ ।’ गरे के हुँदो रहेनछ भन्ने उदाहरण उनी आफैं हुन् ।
उनी कृषि सञ्जाल पोखरा–८ की संयोजक समेत हुन् । पोखरा–८ को सहयोगमा सञ्जालले वडाका ११ वटा समूहलाई बेलाबेलामा तालिम दिँदै आएको छ । हालसम्म ६०० जनालाई तालिम दिइसकिएको छ । अहिले लकडाउनमा भने सो कार्य रोकियो तर बिस्तारै निरन्तरता दिइने वडाध्यक्ष रुद्रनाथ बरालले बताए ।
वडाले एक घर एक कागतीको अभियान समेत सञ्चालन गरेको छ । कौसीमै फलाउन सकिने भएकाले हाल वडामा ५०० कागती हुर्किरहेका उनले बताए । वडाले बीउबिजन उपलब्ध गराउन सहजीकरण गरेको छ ।
कृषि सञ्जालले प्रदान गर्ने २ दिने तालिममा कौसीखेतीको परिचय र यसको महत्त्वबारे सिकाइन्छ । यसमा आकर्षित हुन चाहनेहरूको लागि बिरुवा उत्पादन, मल बनाउने तरिका सिकाउनुका साथै कौसीखेतीको लागि ठाउँको सदुपयोग कसरी हुन्छ भन्नेबारे विस्तृत जानकारी दिइन्छ । तालिम लिएकामध्ये केहीले आफूले जानेको सीप सदुपयोग गर्दै घरमा कौसीखेती थालेका छन् ।
पोखरा–८ का धेरैजसो घरमा धेरथोर कौसीखेती गरिएको छ । लकडाउनको समयमा पनि धेरै जनाले आफूलाई फोन गरेर यसको विधिबारे जिज्ञासा राखेको सरस्वतीले बताइन् ।
वडास्तरमा मात्र सीमित तालिम अब पोखरा महानगरपालिकाले कार्यक्रम बनाएरै ३३ वटै वडामा विस्तार गर्नुपर्ने सरस्वतीको सुझाव छ । ‘कोरोना महामारीले अबको दिनमा आर्थिक संकट लाग्ने देखिन्छ । यसको भरपर्दो उपाय भनेकै कृषिमा आत्मनिर्भर हुनु हो । कुल गार्हस्थ उत्पादनमा समेत टेवा पुग्ने छ,’ उनले भनिन् ।
लामो समयदेखि गाउँका खेतबारी बाँझै रहन गएका थिए । कोरोना महामारीका कारण विदेशबाट स्वदेश फर्किएका युवा जनशक्ति अब तिनै बाँझो जमिनमा कुटोकोदालो चलाउन थालेका छन् । ‘बजार कंक्रिट शहरले बाक्लिदै जाँदा खेतीयोग्य जमिन नासिँदै गयो, यसको एकमात्र विकल्प अब कौसीखेती नै हो,’ उनले भनिन् ।
बढ्दो शहरीकरणसँगै खेतीयोग्य जमिन नासिँदै जानु, मानिसमा कृषितर्फ आकर्षण कम हुनु तथा परनिर्भर बन्ने प्रवृत्ति बढ्दै जाँदा कौसीखेतीले तरकारीको जोहो सजिलै गर्न सकिने उनले बताइन् । आफ्नो ४ सदस्यीय परिवारलाई पसलमा तरकारी किन्नु परे मासिक १० हजार रुपैयाँ खर्च हुनेमा वार्षिक १ लाख रुपैयाँ बढी जोगिने गरेको छ । उनी भन्छिन्, ‘कौसीखेती एक भए पनि यसबाट लाखौैंको सन्तुष्टि मिल्दो रहेछ ।’